|

काठमाडौं : पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त हुने चेतावनी दिएका छन्। साथै‚ स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने उनले बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुली स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टम नै नरहने अवस्था आउने पनि चेतावनी दिए। उनले स्थानीय तहको निर्वाचनलाई सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरूलाई बल पुग्नेतर्फ पनि सचेत गराए।

‘निर्वाचन सार्नु गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ। डेमोक्रेसीलाई पनि धावा बोल्छ। अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ‚’ उनले भने‚ ‘मेरो प्रष्ट धारणा छ‚ साहसका साथ निर्वाचनमा जान सक्नु पर्छ। निर्वाचनलाई सार्न खोजे त्यसले विधिको शासनलाई समाप्त पार्छ। संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ। र, अन्ततः यो डेमोक्रेटिक सिष्टम जान्छ र जसले यो संविधान चाहेका छैनन। त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सुचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गरे। उनले उक्त आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गरे । पराजुलीले अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे।

पूर्वप्रधानन्यायाधीश पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्वन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने पटकपटक दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.