|

दाङ : जिल्लामा पछिल्लो समय स्थानीय सरकारले पनि स्थानीय पाठ्यक्रम बनाउन थालेका छन्। त्यस्तै तुलसीपुर उपमहानगरले पनि यसको तयारी थालेको छ।

अहिले पनि तुलसीपुरका केही सरकारी विद्यालयमा मगर तथा थारू भाषाको पाठ्यक्रम बनाएर पढाइ भइरहेको छ।

स्थानीय सरकारले आफ्नो ठाउँमा ओझेलमा परेका विविध विषय समेटेर स्थानीय पाठ्यक्रम बनाउनु राम्रो पक्ष भएको नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर समितिका अध्यक्ष होमराज डाँगीले बताए।

उनले तुलसीपुरले धार्मिक तथा कला संस्कृतिलाई समेटेर बनाउनुपर्ने समेत सुझाव दिए।

उनले भने, ‘स्थानीय तहका ओझेलमा परेका कलासंस्कृति, प्राकृतिक सम्पदा, स्थानीय चालन चलन समेट्नु पर्छ। यसले गर्दा विद्यार्थीहरूले आफ्ना ठाउँको भएपछि राम्रोसँग ज्ञान लिन सक्छन्। अहिले बाहिरको पढिरहेका छन्।’

त्यस्तै उनले कार्यान्वयनमा केही चुनौती हुने समेत बताए। उनले हरेक क्रियाकलापमा चुनौती रहेको भन्दै अहिले विद्यार्थीहरूको आधारमा विषयगत शिक्षकहरूको समस्या भइरहेको अवस्थामा फेरि स्थानीय भाषा, संस्कृतिको बारेमा पनि समस्या हुने उल्लेख गरे।

‘जस्तो मगर, थारू भाषाको पाठ्यक्रम तयार होला‘, उनले भने, ‘त्यसका लागि विज्ञहरू चाहिन्छ। विज्ञान पढाउने शिक्षकलाई गणित पनि पढाउनुस् भनेझैँ यसमा मिल्दैन। मगर, थारू भाषा नआउने शिक्षकले ती विषय पढाउन सक्दैनन्। त्यसैले गर्दा विषयगत, भाषा, कला संस्कृतिको बारेमा जानेको विज्ञ शिक्षक हुनुपर्छ।’

स्थानीय पाठ्यक्रमले विद्यार्थीहरूले आफैँ सीप प्राप्त गर्ने सक्ने भएकाले धेरै राम्रो हुने मावि दुधरासका शिक्षक पूर्ण पुनले बताए।

त्यस्तै स्थानीय पाठ्यक्रममा वैज्ञानिक र गुणस्तरीय हुनुपर्ने उनले सुझाव दिए। उनले लोप हुँदै गइरहेका यहाँ कला संस्कृति तथा भाषालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने पनि बताए।

त्यस्तै उनले अहिलेसम्म पुरानै पाठ्यक्रमबाट विद्यार्थीहरूले पढ्दै आएको भन्दै कम्तिमा पनि आधारभूत शिक्षासम्म विद्यार्थीहरूलाई सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिए।

‘पछिल्लो समय धेरै युवापुस्ता बाहिर जान बाध्य छन्’, उनले भने, ‘तर अब विद्यालयमा पुरानै शैलीको शिक्षा नभई वैज्ञानिक र गुणस्तरीय शिक्षाको आवश्यक छ। कुनै पनि विद्यार्थीले आधारभूत शिक्षा लिँदासम्म कुनै क्षेत्रमा जान्न सक्ने तयार गर्नुपर्छ। जसले गर्दा उनीहरु पढेर आफ्नो ठाउँमा केही गर्न सकून्।’

त्यस्तै उपमहानगरपालिकाले भाषा, कला संस्कृतिसँगै ज्ञानसीपका बारेमा तयार भएको पाठ्यक्रम बनाउनुपर्ने र सम्पूर्ण बजेटको कम्तिमा २० प्रतिशत शिक्षामा छुट्टाएर काम गर्दा कुनै पनि समस्या नहुने उनको भनाइ थियो।

स्थानीय पाठ्यक्रम लागू भएपछि सामुदायिक विद्यालय मात्र नभई निजी विद्यालय पनि धेरै फाइदा पुग्ने नेशनल, प्याब्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेले बताए।

अहिले निजी विद्यालयहरूमा पनि बाहिरको ठाउँबारे विद्यार्थीहरूले पढ्दै आएको अवस्थामा स्थानीय ठाउँको भए पनि उनीहरूलाई धेरै फाइदा पुग्ने उनले बताए।

अहिले पनि शिक्षा दिइरहेको भए पनि पाठ्यक्रममै आएपछि अझ सिकाइमा सहज हुने उनले बताए। उनले देश संघीयतामा गइसकेपछि राज्यले सबै क्षेत्रमा आफ्नो तयारी गरिरहेको अवस्थामा शिक्षामा पनि स्थानीय सरकारले पाठ्यक्रम बनाउनु एकदमै राम्रो पक्ष भएको बताए।

त्यस्तै तुलसीपुरले आफ्नो ठाउँको देखाउन लायक र लोप हुन लागेका कलासंस्कृति, भाषा, धर्म लगायत ठाउँलाई समेटेर बनाउनुपर्ने उनको भनाइ थियो। त्यस्तै उनले पाठ्यक्रम बनेपछि लागू गर्न कुनै समस्या नहुने समेत बताए।

केन्द्रीय पाठ्यक्रमले स्थानीय कुरा समेट्न नसकेको अवस्थामा यो लागू भए एकदमै राम्रो हुने लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका पूर्व स्रोत व्यक्ति मुकुन्द रिजालले बताए। उनले संघीय प्रणालीमा यो आवश्यक रहेको पनि बताए।

उनले यहाँका सरोकारवाला निकायहरूसँग बसेर विद्यार्थीलाई कुन कुन विषयमा ज्ञान दिनेबारे छलफल गरेर पाठ्यक्रम बनाउनुपर्ने बताए। उनले पाठ्यक्रम निर्माणले स्थानीय सरकारलाई जिम्मेवार बनाउने भन्दै स्थानीय तह व्यक्तिहरूको अपनत्व र जवाफदेही बनाउने पनि बताए।

त्यस्तै उनले कुनै पनि भाषा बलियो बनाउन आफ्नो मातृभाषा बलियो हुनुपर्ने भन्दै आफ्नो भाषा विज्ञ भएपछि मात्र अरू भाषाहरू सिक्ने सकिने भएकाले कम्तिमा ३ कक्षासम्म यहाँको जातजातिको भाषा समेट्नुपर्ने बताए।

तुलसीपुरमा ८३ वटा सामुदायिक र ६८ वटा विद्यालय रहेका छन्। उपमहानगरले आफ्नो पहिचान दिन पाठ्यक्रम बनाउन लागेको उपमहानगरको भनाइ छ।

पाठ्यक्रम बनाउन समस्या भए पनि कार्यान्वयनमा चुनौती नभएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत चक्रबहादुर भण्डारीले बताए।

त्यस्तै उनले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि विद्यालय तहमा ४ वटा विषय बनाएर छोडेको भन्दै एउटा पाठ्यक्रम बनाउन स्थानीय तहलाई अधिकारसहित दिएको हुँदा आफूहरूले त्यसको तयारी गरेको बताए।

त्यस्तै उनले पाठ्यक्रममा ५ वटा आवश्यक हुने हुँदा तुलसीपुरमा एउटा बनाउन लागेको भन्दै बनाउन केही समस्या भए पनि कार्यान्वयनमा कुनै समस्या नहुने समेत बताए।

उनले भने, ‘अहिले पनि हामीसँग अन्य पाठ्यक्रम नियमित लागू भएका छन्। पहिला अंग्रेजी राम्रो बनाउन ओपिडी अंग्रेजी विषय पनि पढाइ हुन्थ्यो तर हामीले स्थानीय पाठ्यक्रम बनाउँदा त्यसको कार्यान्वयनमा खासै चुनौती हुँदैन।’

त्यसैगरी उनले उपमहानगर शिक्षाका लागि रणनीतिक योजना बनाएर अगाडि लैजान लागि रहेको भन्दै तुलसीपुरलाई शिक्षाको केन्द्रविन्दुका रूपमा विकास गर्न लागेको पनि बताए।

त्यस्तै पछिल्लो वर्षयता तुलसीपुरमा शिक्षामा सुधार भइरहेको गुणस्तर सुधारका लागि विभिन्न प्रयास भइरहेको समेत उनको भनाइ थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.