|

झापा : सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सोमबार बिओपी केचनाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

सो अवसरमा जग्गादाता रघुनन्दन गणेश र उनकी पत्नी प्रतिमाकुमारी गणेशलगायत भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानसमेत गरिएको थियो।

भारतको विहार राज्यसँग जोडिएको दक्षिणी झापाको केचना नाका लक्षित गरी कचनकचल गाउँपालिका-४ मा ०७० सालमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेको थियो।

सामुदायिक वनभित्र अस्थायी संरचना बनाएर सशस्त्र प्रहरीलाई राखिएको थियो।

स्थानीय जग्गादाताले ४ कट्ठा १४ धुर जमिन निःशुल्क उपलब्ध गराएपछि बिओपी केचनाको नयाँ कार्यालय भवन निर्माण गर्न प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आव ०७६/७७ मा १ करोड ४२ लाख १ हजार २ सय ३९ रूपैयाँ बजेट विनियोजन गरेको थियो।

बिओपी भवन निर्माणका लागि स्वामी नारायण निर्माण सेवा धरानले भ्याटसहित १ करोड ३९ लाख १७ हजार ५ सय ६४ रूपैयाँमा ठेक्का लिएको थियो।

बिओपीमा कार्यालय भवन, गार्ड क्वार्टर, ब्यारेक, भान्सा, शौचालय, गेटलगायत निर्माण गरिएको छ।

हाल बिओपी केचनामा इन्स्पेक्टर भक्त थापासहित ४५ सशस्त्र प्रहरी कार्यरत छन्।

उद्घाटनमा मुख्यमन्त्री राईले प्रदेश १ को सीमालगायत शान्ति सुरक्षामा प्रदेश सरकार लागि परेको बताए।

यस प्रदेशअन्तर्गत खटिएका सुरक्षा सङ्गठनको सबलीकरण र दक्षता अभिवृद्धिमा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको मुख्यमन्त्री उनको भनाइ थियो।

उनले भने, ‘अन्तरराष्ट्रिय सीमा सुरक्षाका लागि प्रदेश सरकारको सहयोगमा नवनिर्मित भवनले सशस्त्र प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला प्रदान हुने मैले विश्वास लिएको छु।’

प्रदेशको शान्ति सुरक्षाका लागि सुरक्षा निकायसँग आवश्यकताअनुसार सहयोग र सहकार्य गरिरहेको र गर्दै आउने पनि उनले प्रतिबद्धता जाहेर गरे।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नयाँ व्यवस्था र अवस्थासँग नजिक हुन खोजिरहेको बताए।

‘सीमा र छिमेकी बदलिँदैन, त्यो स्थानीय हो,’ उनले भने, ‘व्यवस्था र अवस्था परिवर्तन भइरहन्छ, त्यस्तै व्यवस्था र अवस्थाले नै सधैँ सीमा र छिमेकीलाई कन्ट्रोलमा राख्नुपर्छ।’ 

यसबारे सुरक्षा निकाय सजग रहेको तथा व्यवस्था र अवस्था परिवर्तन भए पनि देश र राष्ट्रका लागि सुरक्षा निकायले आफ्नो कर्तव्य पालन गरिरहेको उनको भनाइ थियो।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बराह वाहिनी मुख्यालय सुनसरीका डिआइजी कमल गिरीले यस प्रदेशमा भारततर्फ ५० वटा र चीनतर्फ २ वटा गरी जम्मा ५२ वटा बिओपी स्थापना भइसकेको बताए।

कोभिड १९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि ५८ वटा एफओपी स्थापना गरिएको उनले जानकारी दिए।

झापामा १८ वटा बिओपी र २८ वटा एफओपी स्थापना गरी सशस्त्रले सीमा सुरक्षा गरिरहेको उनको भनाइ थियो। 

प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलम, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायत उद्घाटनमा उपस्थित रहेका थिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी प्रदीपजंग कार्कीले प्रतिवेदन प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.