सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।
सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।
सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।
सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहको अर्थतन्त्र आत्मनिर्भर हुने डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख रमेश गिरीले बताए।
बढ्दो शहरीकरण, यातायात, अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र व्यवस्थापनमा धेरै चुनौती थपिएको उनको भनाइ छ।
सल्यानका मुख्य सिमसार क्षेत्र कुपिण्डे ताल, कछुवा दह, शारदा नदी, बनगाड खोला, मर्म खोलालगायत हुन्।
सल्यानका सिमसार क्षेत्र पुरिँदै र नासिँदै जानुमा नदी/खोलाबाट अव्यवस्थित तवरमा बालुवा, गिट्टी र ढुंगा निकाल्नु प्रमुख कारण हुन्।
सल्यानको कुपिण्डे ताल। तस्वीर : दीपक शर्मा
पूर्ण रुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमिनमुनिको पानी वा वर्षाले जमेको वा बगेको पानीको क्षेत्रलाई सिमसारका रुपमा लिइने डिभिजन प्रमुख गिरीको भनाइ छ।
उनले भने, ‘सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रयस्थल, खाद्यान्न र जडीबुटी, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल आदिको उपयोगिता प्रदान गरेको छ।’
सिमसार क्षेत्रको संरक्षण एवं प्रवर्द्धन गर्न वृक्षरोपण, रिचार्ज पोखरी निर्माण गर्दै आइरहेको कार्यालयले जनाएको छ।
परम्परागत रुपमा गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गर्ने प्रचलन प्राचीन समयदेखि रहँदै आएको छ।
तर भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले पोखरी, दह, खोला, कुवाको महत्व घट्दै, पुरिँदै सुक्दै र अन्य उपयोगमा जाँदै मासिँदै गएको गिरीको भनाइ छ।
उनले भने, ‘यसबाट एकातिर हाम्रो दैनिक आवश्यकताका लागि पानीका स्रोत मासिँदै गएका छन् भने अर्कोतर्फ जलस्रोतबाट हुने फाइदा सदाका लागि समाप्त हुँदै जान थालेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।