|

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी त्यागेको घोषणा गरेका छन्। मंगलबार गृहजिल्ला हेटौंडा आइपुगेका थापाले पत्रकार सम्मेलन गर्दै राप्रपासँगको ३१ वर्ष लामो राजनीतिक यात्रा त्याग गरेको घोषणा गरेका हुन्।

पार्टी परित्यागको घोषणा गर्नुअघि थापाले एक घण्टाभन्दा लामो समय गृहजिल्ला मकवानपुरका कार्यकर्तालाई सम्बोधन गरेका थिए। थापाले मंसिरमा भएको राप्रपाको निर्वाचनमा निर्मलनिवासले गरेको हस्तक्षेप कुनैपनि हालतमा स्वीकार्न नसक्ने बताएका थिए।

पार्टीको आन्तरिक निर्वाचनमा निर्मलनिवास र राजाबाट भएको हस्तक्षेप चिन्ता र पीडादायी भएको भन्दै थापाले आफूले राजनीतिमा नयाँ यात्राको सुरुवात गर्ने बताए।

कार्यक्रम अवधिभर राजा र निर्मलनिवासप्रति आक्रोशित ढंगले प्रस्तुत भएका थापाले २०६३ सालबाट नै राजाले निरन्तर रुपमा पार्टीमा हस्तक्षेप गर्दै आएको आरोप लगाए।

आफूलाई हराउन राजाले खुलेआम प्रचारप्रसार गर्ने, लोभ लालचमा पार्ने काम गर्नुको साथै नियोजित ढंगले मत बदरसमेत गरेको थापाको आरोप छ। ‘महाराज​धिराजको चाहनामा कमल थापालाई हराउनुपर्छ भनेर खुलेआम प्रचार गर्ने, लोभलालचमा पार्ने काम भयो’ थापाले भने, ‘हाम्रो नाममा लागेको ४०० मतलाई समेत नियोजित ढंगले बदर हो भन्ने काम गरियो। त्यो ४०० मत गन्ने हो भने हाम्रो जित सुनिश्चित थियो।’

शतप्रतिशत राजावादी भएको पार्टीमा जसले जिते पनि राजाको पक्षमा हुने भएपनि आफूलाई हराउनकै लागि राजाले गरेको हस्तक्षेप दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

थापाले आफूहरूले परिकल्पना गरेको राजसंस्थामा पार्टीमा मात्रै नभएर राजनीतिक हस्तक्षेप नहुने भन्दै अबको दिनमा जनतासामु राजसंस्थाको वकालत गर्न नसक्ने सुनाए।

‘यो हस्तक्षेप कमल थापालाई हराउन मात्रै नभएर राप्रपालाई राजनीतिक पार्टी नबनाई राजसंस्था स्थापना गर्ने भजनमण्डली बनाउने प्रयास हो। राप्रपालाई निर्मलनिवासको रिमोट कन्ट्रोलबाट चलाउन खोजिएको हो’ उनले भने, ‘राप्रपाको ३१ वर्षीय इतिहासमा अहिलेसम्म यस्तो भएको थिएन।’ निर्मलनिवास आफ्नो सपनाको तगारो बनेको भन्दै उनले आक्रोश पोखे।  

थापाले कुनै दिन राजासँग भेट हुँदा कमल थापालाई कराएर सरकारले के पाइबक्स्यो भनेर सोध्ने इच्छा भएको टिप्पणी गरे। राजाले आफूलाई पछाडिबाट छुरा हानेको उनको आरोप थियो।

पार्टीको निर्वाचनमा राजाले गरेको हस्तक्षेपको भत्सर्ना गर्न राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेनलाई आफूले लेखेको पत्रको सम्बोधन गर्नुको साटो ट्वीटरमा हालेको भन्दै आफ्नो माग पुरा नहुने भएपछि पार्टीमा बस्नु उचित नहुने उनको भनाइ थियो।

थापाले पार्टीमा सैद्धान्तिक विचलन आएकोले आफू नयाँ विकल्प खोज्न बाध्य भएको भन्दै सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे। उनले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना लगायतको कामलाई अलपत्र छोड्न नसक्ने भन्दै त्यसलाई पुरा गर्न नयाँ यात्रा सुरु गर्ने बताए।

‘नयाँ यात्रा केही समय कठिन भएपनि गन्तव्यमा पुर्‍याउछ। त्यसैले तपाइहरू निराश नभई नयाँ यात्रामा आउनुहोस्’, थापाले भने। उनले आफूले राप्रपा फुटाउन वा विभाजन गर्न नलागेको भन्दै नयाँ यात्राको सुरुवात गर्न लागेको बताए। थापाले मन र बचनले प्रतिवद्ध हुनेहरूलाई मात्रै आफ्नो यात्रामा आउन आग्रह गर्दै आफूप्रति भरोसा नभएकालाई करकाप नगर्ने समेत बताए। 

कार्यकर्तालाई गरेको एक घण्टा लामो सम्बोधन पश्चात थापाले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका थिए। नयाँ पार्टी खोल्ने संकेत गरेका उनले त्यसको बारेमा भने बोल्न चाहेनन्।

पार्टी खोल्ने विषयमा आफू छलफलमा नै भएको भन्दै थापाले त्यसको बारेमा पनि छिट्टै निर्णयमा पुग्ने बताए। थापा मंगलबार नै गृहजिल्लाबाट काठमाडौंतर्फ लागेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.