|
बलात्कार आरोप लागेका सांसद मोहन बानियाँ ।

जुम्ला : सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। मुगु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बानियाँविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको हो।

खत्याड गाउँपालिका-३ का ५७ वर्षीय बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बानियाँको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३ सय ७२ मा दर्ता भएको प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए।

पीडित महिलाले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बानियाँले आफूलाई विभिन्न समयमा बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन।

प्रहरी नायव उपरीक्षक न्यौपानेले भने,‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो। अब अनुसन्धान अघि बढ्छ।’

जाहेरी दिएको चार दिनपछि मुद्दा दर्ता भएको हो। मुद्दा दर्ता नभएको बारे चौतफी दबाब सिर्जना भएपछि जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा दर्ता गर्न बाध्य भएको हो।

पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनका लागि माग गरेकी छिन्।

पीडित महिलाले भनिन्,‘मलाई सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको खबर प्राप्त भएको छ। डिएसपी सापले मुद्दा दर्ता भइसक्यो, ‘दर्ता नम्बर लिन आउनुहोस् भनेर फोन गर्नुभएको थियो। म जिप्रकामा छु।’

पीडित महिलाले नेपालगञ्ज २ को नामबाट जाहेरी दिएकी छन्। माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा बलत्कार गरेको जनाएकी छन्।

सांसद बानियाँले २०७६ मंसिर ८ मा सामुहिक रुपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएका थिए। त्यो रकम फिर्ता गर्नको लागि पटकपटक पीडित महिलासँग छलफल तथा भेटघाट गरेका थिए।

सांसद बानियाँले रुपैयाँ दिन्छु भन्दै माघ १८ गते सुर्खेत पुगेका थिए। तर, सुर्खेतमा भेट हुँदा रुपैयाँ नभएको भन्दै नेपालगञ्जमा आफन्तले रकम जम्मा गरिसकेकोले सँगै नेपालगञ्ज जान दबाब दिएका । उनले अप्सरा होटलको २१५ नम्बर कोठा बताइएको छ।

पीडित नेपालगञ्ज-२ ले भनिन्,‘मैले घर जान्छु, भोलि बिहान रुपैयाँ ल्याइदिनु भनेँ तर अबेरसम्म रकम आउने भन्दै होटलमै बस्न दबाब दिए। बिहान ५ बजे सांसद बानियाँले ढोका ढकढकाएर रुपैयाँ आइसकेकोले लिन आग्रह गर्दै ढोका खोल्न लगाए। ढोका खोल्नेबित्तिकै उनले जबरजस्तीकरण गर्न खोजे। मैले अस्वीकार गरे। करणी गर्न नदिए यही कोठामै मारीदिन्छु भनेर धम्की दिए। म होटलबाट बाहिर निस्कँदा करणी गरेको कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका थिए। ममाथि परेको अन्याय सहन नसकेर म जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन पुगेँ।’

सांसद बानियाँलाई अनुसन्धानको दायरामा ल्याएर हदै सम्मको कारबाही गर्न माग गरिएको छ। पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.