|

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणमा फ्रेन्डसले पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको एक जित नै उसलाई तत्कालका लागि रेलिगेशन जोनबाट माथि उठ्न पर्याप्त रह्यो।

फ्रेन्ड्सले प्रभावशाली जित निकाल्ने क्रममा ब्रिगेडमाथि ५-२ को जित निकाल्यो। जितसँगै फ्रेन्ड्सले ६ अंक जोडेर १२ औं स्थानमा रहँदै रेलिगेशन जोन छाड्यो। फ्रेन्ड्ससँग पराजित भएपछि ब्रिगेड ब्वाइज रेलिगेशन जोनमा झरेको छ।

३ साताको विश्रामपछि शुरु भएको दशौं चरणको खेलमा फ्रेन्ड्स शुरुवातदेखि नै राम्रो लयमा देखिएको थियो। १४ औं मिनेटमा फ्रेन्ड्सले अग्रता लिएको थियो। उसका लागि २५ यार्ड टाढाबाट सुशील शाहले फ्रि किकमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

खेलमा २५ औं मिनेटमा ब्रिगेडका ड्याडी जुनियरले १८ यार्ड बक्स बाहिरबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक राहुल रामचन्द्र यादवको कमजोरीमा गोल हुन पुगेको थियो। त्यसको २ मिनेटपछि फ्रेन्ड्सले पुनः अग्रता बनायो। काउन्टर एट्याकमा श्यामबाबु क्याप्छाकीले पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए।

४१ औं मिनेटमा सुशीलले फ्रिकिक प्रहार गरे पनि त्यो फितलो साबित भयो। पहिलो हाफको इन्जुरी समयमा निशेन सुब्बाको फ्रि किकमा एन्थोनी फ्राँस्वाले गोललाइनबाट हेडमार्फत गोल गरे। दोस्रो हाफमा पनि दुवै टीमले गोलका प्रयास गरेका थिए।

७६ औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रेन्ड्सले खेलमा ४-१ को अग्रता लियो। ७८ औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५-१ को सहज अग्रतामा पुर्‍याएका थिए।

त्यसपछि खेलको ८६ औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरे पनि फ्रेन्ड्स ५-२ ले विजयी भयो। फ्रेन्ड्सका प्रिजेनले रुडीलाई पेनाल्टी बक्सभित्र फल गरेपछि ब्रिगेडले पेनाल्टीको अवसर पाएको थियो। त्यसमा अनिल गुरूङले गोल गरेका थिए। अनिलले ए डिभिजन लिगमा २०७० यता पहिलो गोल गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.