|

काठमाडौं : इन्डियन प्रिमियर लिगको २०२२ को संस्करणका लागि आज मेगा अक्सन सुरु हुँदै छ।

दुई दिन चल्ने अक्सनमा १० फ्रेन्चाइजले ५ सय ९० खेलाडीमा बोली लगाउँदै छन्। यस अघि नै १० टिमले ३३ खेलाडी रिटेन गरिसकेका छन्। अक्सनमा सबैभन्दा पहिला १० मार्की खेलाडीमा बोली लगाइने छ। मार्की खेलाडीको छनोटमा ४ भारतीय खेलाडी रहेका छन्। त्यस्तै ६ विदेशी खेलाडी रहेका छन्।

लिलामीमा ३७० भारतीय खेलाडीसहित १४ देशका २२० विदेशी खेलाडी रहेका छन्। विदेशी खेलाडीमा अस्ट्रेलियाका ४७, वेस्टइन्डिजका ३४, दक्षिण अफ्रिकाका ३३, इंग्ल्यान्ड र न्युजिल्यान्डका २४-२४ खेलाडी हुँदा श्रीलंकाका २३ खेलाडी रहेका छन्। त्यस्तै अफगानिस्तानका १७ खेलाडी रहँदा बंगलादेश, आयरल्यान्डका ५-५ नामिबियाका ३, स्कटल्यान्डका ३ र नेपाल, अमेरिका, जिम्बावेदेखि समान १-१ खेलाडी रहेका छन्।

अक्सनमा एक टोलीले बढीमा २५ र कम्तिमा १८ खेलाडी किन्नुपर्ने हुन्छ। एक टोलीले ९० करोड खर्च गर्ने प्रावधान हुँदा केहि रकम खेलाडी रिटेनका क्रममा क्लब हरुले खर्च गरिसकेका छन्।

एक टिमसँग बढीमा ८ मात्र विदेशी खेलाडी हुने भएकाले विदेशी खेलाडीमा प्रतिस्पर्धा हुन्छ। तर यो पटक दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स (अहमदाबादले राखेको नयाँ नाम) र लखनऊ सुपर जायन्ट थपिएका छन्।

सन्दीपको सम्भावना उच्च

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रूपैँया बेस प्राइज तोकेका छन्।

एसोसिएट देशबाट ७ खेलाडी अक्सनमा रहँदा यसअघि पनि आइपिएल लगायत विदेशी फ्रेन्चाइजमा राम्रो छाप छोडेकाले सन्दीप लामिछानेको संभावना बलियो छ।

लामिछानेले २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहँदै ९ खेलमा १३ विकेट लिएका थिए। तर अघिल्लो संस्करणमा भने उनी बिक्न सकेका थिएनन्। एक टिमले ८ विदेशी खेलाडी राख्न पाउने भएकाले प्रतिस्पर्धा हुन्छ तर यो पटक नेपालका एकमात्र खेलाडी सन्दीपको संभावना उच्च रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.