|

विराटगनर ः यातायात व्यवस्था कार्यालयले जनताबाट गुनासो नआउने गरी काम गर्नुपर्नेमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले जोड दिएका छन्। समयमा काम नभएको र एउटा सामान्य कामका लागि पनि घण्टौं लाग्ने गरेको गुनासो बारम्बार आइरहेको बताउँदै उनले चुस्त सेवा प्रवाह गर्नतर्फ ध्यान दिन यातायात कार्यालयका कर्मचारीलाई निर्देशन दिए।

प्रदेश सरकारले पूर्वाधार विकास मन्त्रालयबाट छुट्ट्याएर यातायात तथा सञ्चार मन्त्रालय बनाएपछि मुख्यमन्त्री राईले मन्त्रालयका कर्मचारीलाई चुस्त ढंगले यातायात र सवारी अनुमतिपत्रको काम व्यवस्थित गर्न निर्देशनसमेत दिएका छन्।

‘एकैदिनमा हुने काम नहुने वा ढिला हुने, कतिपय नहुने काम हुने अवस्था तपाईंहरूले सच्याउनु पर्छ,’ उनले भने, ‘यातायात कार्यालयको कामको शैलीले सरकारले आलोचना बेहोर्नु परिरहेको छ,’ उनले भने, ‘अब त्यस्तो नहोस्।’

सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने र सुधार गर्नेतर्फ सोच्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री राईले भने, ‘जनताले फरक अनुभूति गर्न नपाउँदा व्यवस्थाको नै आलोचना हुने गरेको छ, यसबाट जनता निराश हुने र त्यसपछि मुलुकमा भयावह अवस्था आउने गरेको राजनीतिक घटनाक्रम हामी पाउँछौं, त्यसैले चुस्त र प्रभावकारी सेवा दिनेतर्फ लाग्नुहोला।’

सक्षम तरिकाले कामलाई चुस्त दुरुस्त गर्नुपर्ने भन्दै उनले एउटै मन्त्रालय हुँदा चुस्त ढंगले काम भएन भनेर नयाँ मन्त्रालय सिर्जना गरेकाले त्यसको औचित्य सावित गर्नेतर्फ लाग्न उनले कर्मचारीहरूलाई निर्देशन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.