|

काठमाडौं : मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन बनेको छ। लिगमा दुई खेल बाँकी हुँदै मच्छिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो। बुधबार भएको ११ औ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रोपटक च्याम्पियन बन्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरे। सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाउन प्रयास गरेको बल क्रसबारमा लाग्दै फर्किएको बललाई नोर्लानले जाली चुमाएका थिए।

नोर्लानले उक्त गोल मछिन्द्रका चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई समर्पण गरे। मनिषले च्यासलबिरुद्धको खेलमा टाउकामा चोट बोक्दै तीन दिन अस्पतालमा बिताएका थिए।

यसअघि मछिन्द्रले २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो। खेलमा अब मच्छिन्द्रले दुबै खेल हारेर मनाङले दुबै खेल जितेपनि समान अंक भए पनि 'हेड टु हेड' मा मच्छिन्द्र च्याम्पियनका रुपमा रहने छ। त्यसैले मच्छिन्द्रले दुई खेल अगावै च्याम्पियनको ताज पहिरियो।

१९७३ मा मच्छिन्द्र बहाल क्लबका रुपमा स्थापित भएको मच्छिन्द्रले २००४ पछि मच्छिन्द्र फुटबल क्लबका रुपमा आफ्नो नाम परिवर्तन गरेको थियो। क्लबले ए डिभिजन लिगको उपाधि भने समग्रमा पनि यो दोस्रो पटकनै जितेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.