काठमाडौं : प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा 'माओवादीको च्यातिएको मन सिलाउन धेरै प्रयास गरेको' सन्दर्भमा अरुणाा लामाले गाएको गीत स्मरण गरेका थिए। प्रधानमन्त्रीले स्मरण गरेको त्यो गीतका रचनाकार राजेन्द्र थापा हुन्।
प्रधानमन्त्री ओलीले थापाले रचेको यो गीत सम्झिँदै संसदमा माओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्डलाई व्यंग्य गरिरहँदा थापा घरमै थिए। तर उनले प्रधानमन्त्रीको सम्बोधन भने हेरेका थिएनन्। कसैले उनलाई फोन गर्यो र भन्यो- प्रधानमन्त्रीले तपाईँको गीत संसदमा सुनाउँदैछन्। त्यसपछि उनले बल्ल टेलिभिजनमा प्रधानमन्त्रीको सम्बोधन हेरे।
त्यही क्रममा हामीले उनलाई सम्पर्क गर्यौँ र सोध्यौँ अरुणा लामाले गाएको यो गीत कसरी रचियो?
'मैले रोजगारीका सिलसिलामा इलाममा लेख्न सुरु गरेको गीत हो यो', नेपाली सेनाका अवकासप्राप्त उपरथी थापा स्मरण गर्छन्- यो गीत ४२ वर्षअघि रचना गरेको थिएँ। इलामको सोक्तिममा भानुजयन्तिको अघिल्लो दिन २०३१ असार २७ गते रचिएको थियो। पहिलो अन्तरा २०३१ असार २७ मा लेखिएको थियो। गीतकै लागि लेखिएको दोस्रो र तेस्रो अन्तरा २०३१ कात्तिक ८ गते पोखराको महेन्द्र पुलमा रचिएको थियो। गीतलाई अन्तिम रुप दिँदा दोस्रो अन्तरालाई समेटिएन भने तेस्रो अन्तरालाई दोस्रो अन्तरा बनाइयो।'
गीतको तेस्रो र चौँथो अन्तरा पोखराकै फेवातालमा २०३१ मंसिर ८ गते रचिएको गीतकार राजेन्द्र थापा बताउँछन्। करिव छ पुस्ताले मन पराएको यो गीत हरेकपल्ट दुःखको समयमा सम्झिने गरेकोमा खुसी व्यक्त गर्छन् राजेन्द्र थापा। तर सष्ट्राको नाम उल्लेख नहुने गरेकोमा दुःखी छन् उनी।
‘प्रतिलिपि अधिकार ऐन २०५९ मा नै बौद्धिक सम्पत्तिको प्रयोग गर्दा सष्ट्राको नाम उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ’ उनले भने– ‘तर हाम्रोमा सँधै गाउने मान्छेको मात्र नाम आउँछ, रचनाकारको नाम लिइँदैन, यो दुर्भाग्य हो।’
नेपाली सेनाको जागिरको सिलसिलामा इलाममा खटिएका बेला उनलाई पहिलो अन्तरा फुरेको थियो। त्यसपछिका अन्तरा भने पोखरा बसाईको क्रममा फुरेको उनी बताउँछन्। सुरुमा गीतको पाँचवटा अन्तरा बनाइएपनि गीतलाई अन्तिम रुप दिँदा चार वटा अन्तरा मात्र राखियो।
गीतको अन्तिम रुप दिनुअघि पाँच वटै अन्तरा कस्तो थियो त?
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालें
यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो
(२०३१ असार २७ भानुजयन्तिभन्दा एकदिनअघि)
आशु झारी कोही रुन्छन्, बेदनालाई धोएं भन्छन्
धुँदाधुँदै मन फाटी आंखाभरि रोएँ भन्छन्
आँखा भरी रोएँ भन्छन्, मुटुभरि रोएँ भन्छन्
आंखा फाटे स्युंथें बरु, तर मन स्युने केले हो
(नसमेटिएको, २०३१ कात्तिक ८ महेन्द्रपुल, पोखरा)
सुख के हो दुख के हो मनले खोज्ने खुसी के हो
भावीले निधारमा कर्म लेख्ने मसी के हो
कर्म लेख्ने मसी के हो, भाग्य तोक्ने कसी के हो
कर्म फाटे जोड्थें बरु तर मन जोड्ने केले हो
(समाविष्ट, २०३१ कात्तिक ८, महेन्द्र पुल, पोखरा)
सास फेरें जस्तो लाग्छ तर भन्छन् मरिसकिस्
तेरो भाग्य यत्ति नै हो, भोगचलन गरिसकिस्
सलहको भाग्य मेरो मर्ने बांच्ने ठेकान छैन
भाग्य फाटे स्युंथें बरु तर मन स्युने केले हो
(समाविष्ट, २०३१ मंसिर ८ फेवाताल)
लुछिएको थिचिएको थिलो थिलो मान्छे म है
रगतपच्छे भई भई बांच्न खोज्ने कस्तो म है
निष्कासित जीवनलाई शिकायतको हकै हुन्न
जीवन फाटे स्युंथें बरु तर मन स्युने केले हो
(समाविष्ट नभएको, २०३१ मंसिर ८ फेवाताल)
तपाईंको ईमेल गोप्य राखिनेछ ।