|

हेटौंडा : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशका कुनाकाप्चामा बागमती सरकारले स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर जनतालाई संघीयताको आभाष दिलाउने बताएका छन्। बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ हेटौंडाको १४ औं वार्षिकोत्सवका अवसरमा आयोजित साताव्यापी कार्यक्रमको छैटौं दिन शुक्रबार भएको 'कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरूको भूमिका' अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

उनले स्वास्थ्य मन्त्रालय प्रदेशका सबै ठाउँमा सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कटिबद्ध रहेको बताए। मन्त्री लामाले प्रदेशको ९५ प्रतिशत नागरिकले कोरोनाविरुद्ध दुवै मात्रा खोप लगाइसकेको भन्दै स्वास्थ्य मन्त्रालय कुनै पनि महामारीको सामना गर्न तयार रहेको पनि दाबी गरे। ‘जस्तोसुकै महामारी आए पनि हामी त्यसको सामना गरेर जनतालाई सुरक्षा दिन तयार छौँ तर, जनता पनि आफू सचेत भने हुनुपर्छ’,उनले भने।

कार्यक्रममा रेडियोका संरक्षक अजयराज सुमार्गीले सही र सत्यको अर्थ 'थाहा' भएको भन्दै सोही मार्गमा थाहा हिँडिरहेको बताएका थिए। बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चारका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, रेडियोका प्रबन्धक अरुणराज सुमार्गी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शनिबार ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए। कार्यक्रमको पहिलो दिन आइतबार पर्यावरण प्रवर्द्धनका लागि रेडियोले साइकल र्‍याली गरेको थियो भने दोस्रो दिन सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम गरेको थियो।

तेस्रो दिन मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया, चौथो दिन बुधबार दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक सरोकारवालाबीच अन्तरक्रिया गरेको थियो भने पाँचौं दिन बिहीबार सडक दुर्घटना न्यूनीकरण नहुनुमा जिम्मेवारी कसको भन्ने विषयमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.