|

काठमाडौं : युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सैद्धान्तिक रुपमा सहमत भएका छन्। 

फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएको ह्वाइट हाउसले जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला यस क्षेत्रको समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ। 

अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता सहमत भएका हुन्। फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रो र पुटिनबीच दुई पटक गरेर तीन घण्टा फोनवार्ता भएको छ। रुसी राष्ट्रपतिसँग कुरा गरेपछि म्याक्रोले अमेरिकी राष्ट्रपति बाइडेनसँग फोन वार्ता गरेका थिए।  

युरोपमा झण्डै एक दशकदेखि जारी सुरक्षा संकटबारे गर्न लागिएको शिखर सम्मेलनबारे आज अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लावरोवबीच हुने वार्तामा चर्चा गरिनेछ। अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गरे यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएको छ। 

अमेरिकी स्याटालाइट कम्पनी माक्सारले उसको भूउपग्रह इमेजरीले युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा सैनिक परिचालन गरेको तस्बिरहरु संकलन गरेको बताएको छ। 

साथै सैनिक संख्या दैनिक वृद्धि भइरहेको पाइएको उसको भनाइ छ। यसअघि झण्डै एक लाखको हाराहारीमा त्यस क्षेत्रमा रुसी सैनिक परिचालन भएकोमा अहिले सैनिकको संख्या १ लाख ९० हजार हाराहारी पुगेको अमेरिकी दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.