|

इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई बोकेर हिँड्न मिल्ने पोर्टेबल अल्ट्रासाउण्ड मेशिन सहयोग गरेको छ। एक कार्यक्रममा उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम र वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई ८ लाख रूपैयाँ बराबरको पोर्टेबल अल्टासाउण्ड मेशिन प्रदान गरे।

इटहरी उपमहानगरपालिकामा प्रदेश १ सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा सञ्चालित अपाङ्गगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत सो मेशिन इटहरी अस्पताललाई प्रदान गरिएको हो। यो मेशिनको सहायताले गर्भवती तथा बच्चाको मृत्यु दर घटाउन मद्दत पुग्ने सकिने उपप्रमुख गौतमले विश्वास व्यक्त गरे।

उनका अनुसार कार्यविधि बनाएर प्रत्येक वडावाटै महिनाको एक पटक सेवा दिने गरि पोर्टेबल अल्ट्रासाउण्ड मेशिनको प्रयोग गरिने छ। अपाङ्गता भएका गर्भवतीको घरमै पुगेर परीक्षण गर्ने व्यवस्था मिलाइने जानकारी उनले दिए। इटहरी अस्पतालका निमित्त प्रमुख डा चेम्जोङ्गले पोर्टेबल अल्टासाउण्ड मेशिनबाट परीक्षण गरेपछि आमा तथा बच्चाको मृत्यु दर घटेको दृष्टान्त सुनाए।

११ जिल्लामा सञ्चालित सिइओएमसी कार्यक्रममार्फत मृत्यु दर ५ सय ४९ बाट २ सय ४९ मा झरेको उनले जानकारी दिए। कार्यक्रममा करुणा फाउण्डेसनका सुरजकुमार सरदारले ग्रामीण भेगका गर्भवती र आमालाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिने बताए। आर्थिक अवस्था कमजोर भएका र अस्पतालमा गर्भ परीक्षण गराउने पहुँच नभएका गर्भवतीहरू यसबाट लाभान्वित हुने उनको अपेक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.