|

जुम्ला : जुम्लाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।

आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको चन्दननाथ नगरपालिका–६ की संगीता रावलले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ। आत्मनिर्भर बन्छौँ। आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’

सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न एकमहिने हाते होजियारी तालिम दिएको थियो। ‘एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ’, संगीताले भनिन्, ‘सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्छौँ।’

उनीहरूले टोपी र मोजा बुन्न सिकेका हुन्। अब घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारसम्म लैजाने तयारी उनीहरूले गरेका छन्।

'यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउनेछ'‚ चन्दननाथ–४ की अमृता भारतीले थपिन्, ‘यो सीपले व्यावसायिक बन्न प्रेरित गरेको छ। सानो लगानीमा पनि गर्न सकिने व्यवसाय भएकाले सहजै गर्न सकिनेछ।’

भारतीले सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै वेला काम लाग्ने बताइन्। उनले भनिन्, ‘सीप सिकेर मात्र पुग्दैन‚ उत्पादन गरी बेच्न सक्ने हैसियत राख्नुपर्ने हुन्छ।’

यसअघि चुलोचौको र पानीपधेँरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरेर आत्मनिर्भरको बाटो रोजेका छन्। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीप व्यावसायिक रूपले अगाडि बढाउन आग्रह गरे।

‘सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पर्दैन’, उनले भने, ‘घरमै किन्न आउने वातावरण बन्छ। यो वातावरण बनाउन तयार हुनु अहिलेको आवश्यकता हो।’

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले विपन्न महिलाको आयआर्जन सुधार्न सीप सिकाइएको बताए। उनले भने‚ ‘यस्ता खाले सीप सिकेर धेरै महिला स्वरोजगार बनेका छन्। सरकारले महिलाले सीप सिकेर स्वरोजगार बन्ने र उनीहरूको आयआर्जनमा सुधार हुने अपेक्षा गरेको छ।’

विपन्न असहाय महिलाको आयआर्जनमा सुधार ल्याउन सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्बन्धी एकमहिने सीपमूलक होजियारी सीप दिइएको छिरिङ ल्यामु लामाले बताइन्।

हिमाली महिला जागरण केन्द्र जुम्लाकी अध्यक्ष लामाले भनिन्, ‘विपन्न महिलाको आयआर्जन बढाउन यस्तो तालिम आवश्यक छ। महिलाको आर्थिक स्तर उकास्नु हिमाली महिला जागरण केन्द्रको उद्देश्य हो।’

प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइएको बताइन्।

उनले भनिन्, ‘आफैँले बुनेर टोपी र मोजा बुन्न सक्ने भइसकेका छन्। अझै कहिलेकाहीँ बुन्ने कुरामा वेला पनि सहयोग गर्न तत्पर हुनेछु।’ चन्दननाथ नगरपालिकाका १२ जना महिलाले सीप सिकेका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.