|

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ। नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार गरेका हुन्।

यस्ता छन् प्रतिबन्ध

अमेरिकाले लगाएका नयाँ प्रतिबन्धबाट रुसको व्यापार तथा विदेशी मुद्रा सटही तथा विदेशी मुद्रा कारोबारमा असर पर्नेछ। प्रतिबन्धपछि अब रुसले अमेरिकी डलर, युरो, बेलायती पाउन्ड र जापानी येनलगायत अन्तरराष्ट्रिय चलनचल्तीका मुद्रामा कारोबार गर्न सक्ने छैन। साथै रुसका पाँच प्रमुख तथा ठूला बैंकलाई लक्षित गरेर पनि यी प्रतिबन्ध लगाइएको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

यसबाहेक यी प्रतिबन्धले रुसका धनाढ्य/कुलीन वर्गलाई पनि प्रभावित गर्नेछ। अब रुसी धनाढ्य/कुलीनहरूले अमेरिकी बैंकहरूको सहायताबाट रकम स्थानान्तरण गर्न पाउने छैनन्।

अमेरिकाले रुसमा हुने निर्यातमाथि समेत प्रतिबन्धको घोषणा गरेको छ। रुसले हवाईजहाजका पार्टपूर्जा, विद्युतीय वस्तु तथा सामग्री र कम्प्युटरसँग सम्बन्धित सामान, सेमिकन्डक्टरजस्ता विद्युतीय सामानलगायत किन्न नसकोस् भनेर यस्ता वस्तुहरू रुसलाई बेचबिखन तथा निर्यात गर्न अमेरिकाले प्रतिबन्ध लगाएको हो।

यसैगरि रुसको नर्ड स्ट्रिम-२ ग्यास पाइपलाइन निर्माण गरिरहेको कम्पनीमाथि समेत अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकाले बुधबार रुसका दुई ठूला वित्तिय संस्थाका साथै केही रुसी धनाढ्य/कुलीन परिवार तथा उनीहरूका सदस्यहरूमाथि समेत प्रतिबन्ध लगाएको थियो।

रुसमा मुद्रास्फिति र कर्जाको ब्याजदर बढाउन, क्रयशक्ति घटाउन, लगानी र आर्थिक वृद्धि तथा रुसी जीवनस्तर खस्काउनका लागि यी आर्थिक प्रतिबन्ध लगाइएको ह्वाइट हाउसका आर्थिक सल्लाहकार दलीप सिंहले बिहीबार पत्रकारहरूमाझ बताएको रोयटर्सले जनाएको छ।

के हो नर्ड स्ट्रिम-२ पाइपलाइन?

नर्ड स्ट्रिम-२ पाइपलाइनले रुसबाट ग्यास जर्मनीमा आपूर्ति गर्छ। गएको सेप्टेम्बरमै निर्माण भइसकेको यो पाइपलाइन सञ्चालनमा भने आइसकेको छैन। रुसको सेन्ट पिटर्सबर्गनजिकबाट जर्मनीको लुबमिनसम्म निर्मित यो पाइपलाइन १ हजार २ सय ३० किलोमिटर लामो छ।

यो पाइपलाइन पहिले निर्मित नर्ड स्ट्रिम पाइपलाइनको समानान्तर निर्माण गरिएको छ। नर्ड स्ट्रिम-२ निर्माण गर्न १० अर्ब युरो लागेको थियो, जसको आधा खर्च रुसको सरकारी ऊर्जा कम्पनी ग्याजप्रोमले बेहोरेको थियो भने बाँकी बेलायती बहुराष्ट्रिय ऊर्जा कम्पनी शेल र फ्रान्सेली ऊर्जा कम्पनी एन्जीले बेहोरेका थिए। रुसले प्राकृतिक ग्यास युरोपमा आपूर्ति गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत यो पाइपलाइन निर्माण गरेको हो।

 

रुसका विभिन्न शहरमा भएको आन्दोलन

आक्रमणको रुसभित्रै विरोध

युक्रेनमाथि रुसी आक्रमणको विरोधमा रुसभित्रै पनि हजारौँ रुसी सडकमा ओर्लिएका छन्। युक्रेनमाथि हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा प्रदर्शनहरू भएका थिए।

रुसले गरेको सो आक्रमणविरुद्ध रुसको राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ रुसी सडकमा उत्रिएका थिए। रुसी शहरमा मात्र नभएर विश्वका अन्य कैयौँ शहरमा पनि युक्रेन आक्रमणको विरोधमा प्रदर्शन भएका छन्। ती प्रदर्शनमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ। रुसमा युक्रेन हमलाविरोधी १ हजार ७ सय प्रदर्शनकारीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ।

रुसले बिहीबार युक्रेनमा हमला गरेको थियो। आक्रमणमा युक्रेनको राजधानी किभलगायत शहरमा केही युक्रेनीको ज्यान गएको छ। रुसले युक्रेनका विभिन्न भूभागमा आक्रमण गर्न थालेको शुक्रबार दोस्रो दिन हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.