|

बैतडी : बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका बैतडीका किसानलाई सरकारले राहत उपलब्ध गराउने भएको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण यहाँका किसानले लगाएको धानबालीमा क्षति पुगेको थियो।

राहतका लागि केन्द्र सरकारले यहाँका लागि ८ लाख रुपैयाँ निकासा गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

रकम निकासा भएकोे विवरण प्रत्येक स्थानीय तहहरूलाई पठाइएको छ। उनले भने,‘राहतका लागि सबै स्थानीय तहहरुलाई पत्रचार गरेका छौं, सक्कली कागजात आएपछि राहत वितरण गर्छौ।’

मापदण्ड–२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट एकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने गृह मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ।

किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो।

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण पहिरोमा परेर यहाँ चार जनाको मृत्यु भएको थियो। यस्तै कृषि क्षेत्रमासमेत क्षति पुगेको थियो। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले पनि बैतडीमा बेमौसमी वर्षाबाट प्रभावितहरुको राहतका लागि २५ लाख बजेट निकासा गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.