|

काठमाडौं : सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसी सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औपचारिक रुपमा सहभागिता नजनाए पनि अनौपचारिक रुपमा सहयोग गरेको बताएका हुन्।

उनले एमसिसीबारे सकारात्मक दृष्टिकोण राखी संसदबाट पारित गराउन अनौपचारिक ढंगले भए पनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवादसमेत दिए।

सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझबुझपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंसा गरेको प्रवक्ता महतको भनाइ थियो।

उनले भने, ‘एमसिसी सही ढंगले संसदले पारित गर्‍यो। त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो। हामीले यसरी बुझेको छौं। समग्रमा अपवाद बाहेक सबैको सहयोगबाट संसदले एमसिसी परियोजनालाई जुन पारित गरेको छ।'

प्रवक्ता महतले एमसिसी सम्झौता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो बारे जनस्तरमा उठेका भ्रमहरूको पनि निवारण भएको विश्वास व्यक्त गरे।

उनले एमसिसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढ्न आफ्नो पार्टी लागि रहने प्रतिवद्धतासमेत व्यक्त गरे।

एमसिसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्कसमेत गरे।

प्रवक्ता महतले एमसिसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसिसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहोर्‍याए।

उनले भने, ‘बाँकी अझै केही भ्रम र अफबाह छन् भने त्यसलाई पनि नेपाली काँग्रेस पार्टीले निरन्तर मेटन निरन्तर लागि रहन्छ। उहाँहरुलाई पनि हामी अनुरोध गर्न चाहन्छौं–यो शुद्ध विकास सहयोग हो। विकास परियोजना हो। यसको अरु कुनै मक्सद छैन।'

प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाईन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताए।

यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यक्ताअनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उनले बताए।

आइतबारको संसद्‍ बैठकबाट एमसिसी अनुमोदन भइरहँदा एमालेका सांसदहरूले भने पुरानै मागसहित बेल घेराउ गर्दै चर्को नाराबाजी कायमै राखेका थिए। यद्यपि, एमालेकै सांसद भीम रावलले भने एमसिसी अनुमोदनको छलफलमा भाग लिएका थिए। उनले एमसिसी अनुमोदन राष्ट्रका लागि घातक हुने भन्दै चर्को विरोधसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.