शंकास्पद भूमिकामा देखिएका अन्य न्यायाधीशबारे पनि छानबिन गर्न माग

|

काठमाडौं : नेपाल बार एशोसिएशनको १५ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन-२०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ। 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसकिने बताए।

उनले प्रतिनिधिसभामा दर्ता भएको प्रधानन्यायाधीश जबरा बिरुद्धको महाभियोगको प्रस्तावमाथि यथाशीघ्र कारबाहीको प्रक्रिया थाल्न पनि सम्मेलनले माग गरेको बताए। महासचिव पौडेलले जबराको बहिर्गमनले मात्रै न्यायपालिका सुधार हुन नसक्ने र भ्रष्टाचारको निर्मुलताका लागि शंकास्पद भुमिकामा देखिएका अन्य न्यायाधीशहरूबारे पनि छानबिन प्रक्रिया अघि बढाउन माग गरे।

उनले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको भुमिकाका कारण सर्वोच्च अदालतमा मुद्दाहरु पर्ने गरेको र त्यस्ता मुद्दाहरु प्रधानन्यायाधीशकै नेतृत्वमा गठन भएको संवैधानिक इजलासले हेर्ने गरेको उल्लेख गर्दै यसमा प्रधानन्यायाधीशको संलग्नता नरहने गरी संविधान संशोधन गर्न पनि माग गरेको जानकारी दिए।

सम्मेलनले संवैधानिक परिषदद्वारा हुने नियुक्तिका लागि सम्भावित र योग्य व्यक्तिको सूची तयार पारेर सार्वजनिक सुनुवाइको आधारमा नियुक्त गर्ने प्रक्रिया निश्चित गर्न कानून संशोधन गर्नुपर्ने माग समेत राखेको छ ।

महासचिव पौडेलले न्यायपालिकाका विकृति र विसंगति निर्मुल गर्न लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन सर्वोच्चबाट विनियम संशोधन गरी प्रकाशकीय निर्णयबाट कार्यान्वयन हुनसक्ने प्रावधान तत्काल क्रमिक रुपमा लागू गर्न पनि सम्मेलनले माग गरेको बताए।

सम्मेलनले अदालतमा नियुक्त भएका न्यायाधीश, न्याय परिषद्का सदस्यहरुको सम्पतिको वार्षिक विवरण सार्वजनिक गर्नुपर्ने र विवरण लुकाएको पाए फौजदारी कानूनको व्यवस्था हुनुपर्ने, त्यस्तो विवरण प्रत्येक पटक कानून व्यवसायी प्रमाणपत्र अद्यावधिक गरेर आफ्नो वेबसाइटमा राख्नुपर्ने माग गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.