|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। 

आइतबार बिहानका लागि बोलाइएको बैठक सोमबार बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। 

शुक्रबारको बैठकमा एमसिसी अनुमोदनपछि पार्टीमा देखिएको असन्तुष्टि, पार्टी पदाधिकारी चयन, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो। 

पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो। त्यसपछि बैठक गत शुक्रबार बसेको थियो। माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गरेको छैन।

एमसिसी विवादले पार्टी एकता जोगाउनु नै चुनौती बनेको बेला प्रचण्डलाई पार्टी पदाधिकारी चयन गर्नेपर्ने अर्को दबाब छ। पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन। 

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ। 

माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरेको थियो। पार्टी पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्ने प्रचण्डले प्रयास गरेको भएपनि आकांक्षी धेरै भएकाले समस्या परेको छ। 

पार्टीको अध्यक्षपछिको जिम्मेवार पद महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले बलियो रुपमा अडान लिइराखेका कारणले प्रचण्डलाई समस्या परेको छ। त्यसो त देव गुरुङ र पम्फा भुसालले पनि महासचिवकै दाबेदार हुन्। 

महासचिवका दाबेदार भुसाल र गुरुङलाई प्रचण्डले उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ। प्रचण्ड सर्वसम्मत रुपमा पदाधिकारी छान्न चाहन्छन्।  तर, नेताहरुको अडान सानो छैन। नेताहरुको अडानकै कारणले प्रचण्डले अहिले पदाधिकारी चयन नगर्ने मनस्थितिमा बनाएकाले गृहकार्य थालिरहेको बुझिएको छ।  

महासचिव कसलाई बनाउने भन्ने विषयमा नेता कार्यकर्ता पंक्ति विभाजित हुन थालिसकेका छन्। विश्वास पात्रहरू नै महासचिवको दौडमा रहेको र नेता श्रेष्ठको असन्तुष्टिले पदाधिकारी चयन प्रचण्डका लागि थप पेचिलो बनेको छ।

प्रचण्डले पुन वा शर्मामध्ये एक जनालाई चयन गर्ने स्थितिमा भने पुनको सम्भावना बलियो देखिएको छ। एकीकृत माओवादी कालमा सचिव भइसकेकाले वरियतामा शर्माभन्दा पुन नै अगाडि छन्। पुनकै कारणले पदाधिकारी चयन रोकेर राखेका प्रचण्ड अहिले आन्तरिक गृहकार्यमा व्यस्त छन्। 

वरिष्ठ उपाध्यक्षमा नारायणकाजीको स्थान सुरक्षित रहे पनि उनी अहिले पार्टी निर्णयबाट रुष्ट छन्। महासचिव दौडबाट बाहिरिने नेताहरूलाई उपाध्यक्षमा लगेर व्यवस्थापन गर्ने प्रचण्डको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.