|

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीले १६ औं दिनमा सोमबार अनसन तोड्दैछन्। आइतबार राति सरकारी वार्ता टोलीसँग चार बुँदे सहमति भएपछि डा. केसीले अनसन तोड्न लागेका छन्।

सोमबार दिउँसो २ बजे डा. केसीले अनसन तोड्ने उनका तर्फबाट गठित वार्ता टोलीका संयोजक डा. रञ्जन सापकोटाले जानकारी दिए। चिकित्सा शिक्षा सुधारको माग राखेर पटक पटक अनसन बसेका केसीको यो आठौं पटकको अनसन सबैभन्दा लामो हो। यसअघि उनी सातौं पटकको अनसन १४ दिन बसेका थिए।

केसीको समर्थनमा आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु सरकारी वार्ता टोली र केसीबीच सहमति भएपछि आइतबार बेलुकादेखि नै काममा फर्केका छन्। उनीहरुले अस्पतालको ओपिडी सेवा बहिस्कार गरेर आन्दोलन गरेका थिए।

सोमबार राति नै सहमति पत्रमा हस्ताक्षर गरेका डा. केसीले अब प्रधानमन्त्री बन्न लागेका नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस  सभापति शेरबहादुर देउवालाई पनि सहमति कार्यान्वयनको प्रतिवद्धता गराउन खोजेको उनी निकटका चिकित्सकहरुले बताएका छन्। त्यसैले अनसन तोड्न ढिलाई भएको उनीहरुको भनाई छ।

आइतबार राति अबेर सरकारसँग भएको वार्तामा चिकित्सा शिक्षाको स्तरीयता, विद्यार्थी भर्नामा पारदर्शिता, केन्द्रीय प्रवेश परीक्षा प्रणाली, सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र अध्ययनका लागि ७५ प्रतिशत विद्यार्थीका लागि क्रमशः छात्रवृत्ति उपलब्ध गराउने र प्रत्येक प्रदेशमा कम्तीमा एक/एक वटा मेडिकल कलेज संचालन गर्ने सहमति भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग संसदमा दर्ता भइसकेकाले सरकारले केही गर्न नपर्ने सहमति भएको हो। सरकारले डा. केसीसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो।

यसैबीच आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शनका क्रममा दुर्ब्यबहार भएको विरोधमा डाक्टरहरुले सोमबार पनि प्रदर्शन गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.