|

झापा : विभागीय टोली नेपाल पुलिस क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ।

बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा संकटा क्लबले १–० गोल अन्तरले जित निकालेसँगै पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि तेस्रो र चौथो संस्करणको झापा गोल्डकपमा पुलिस क्लबले क्वार्टरफाइनलसम्म यात्रा तय गरेका थिए।

संकटा क्लबका उत्तम राईले खेलको ६५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले विदेशी खेलाडी फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरे। खेलमा राईले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बन्यो।

संकटामाथि दबाब कायम राखेको पुलिसलाई संकटाका गोलरक्षक रोहित कार्कीले स्तब्ध बनायो। गोलरक्षक कार्कीकै उत्कृष्ट बचाउका कारण पुलिसले गोल गर्ने अवसर गुमाए। खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो।

२६ औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोलरक्षक कार्कीले विफल तुल्याए। ५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वन भर्सेस वन’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन। ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुट्टामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो। त्यस्तै, १६ औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोलरक्षक संजित श्रेष्ठले विफल बनाए। २२ औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो। 

अब संकटा क्वार्टर फाइनलमा थ्री स्टारसँग भिड्नेछ। खेलको म्यान अफ द म्याच संकटाका फोडे फोफोना घोषित भए। उनले नगद ९ हजार ९ सय ९९ रूपैयाँ पाए। भोलि सोमबार सातदोबाटो युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग भिड्दै छ।

झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रूपैयाँ पाउने छन्। त्यस्तै, मस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ।

प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रूपैयाँ पुरस्कार पाउने छन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.