कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत ठाउँबाट पक्राउ

|

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जब सेन्टर स्थापना गरी विभिन्न कम्पनीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने २ जना महिलासहित ९ जना पक्राउ परेका छन्। ​पीडितहरूले जागीर लगाइदिने बहानामा रकम असुलेर ठगेको भन्दै दिएको उजुरीपछि प्रहरीको विशेष टोलीले आइतबार राजधानीका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।

विभिन्न नाममा जब प्लेसमेन्ट खोलेर रकम असुल्ने ९ जनालाई प्रहरीले कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र बालाजु पठाएको छ।

पक्राउ पर्नेमा अर्घाखाँचीका अमर पाण्डे र तिलकराम पाण्डे, लमजुङका आनन्द मरहठ्ठा, सिराहाका विवेक यादव, ओखलढुङगाका अश्विन राई, सिन्धुलीका घनश्याम पहाडी, रौतहटकी सृजना लामिछाने, मोरङकी ज्ञानु न्यौपाने र रौतहटका रामवचन कुमार यादव छन्। 

प्रहरीका अनुसार अनुसन्धानबाट जब सेन्टरहरूले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र सामाजिक सञ्जाल, पत्रपत्रिका,  प्रचार पम्पलेटका माध्यमबाट घरमै बसेर जागिर पाइन्छ भनि प्रचारप्रसार गर्ने गरेका थिए। जागिरका लागि ती जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फारम भर्न लगाउने र फारम भरेको ३ सयदेखि ५ सयसम्म तथा जब ग्यारेन्टी शुल्क भन्दै १ हजारदेखि ६ हजार रूपैयाँसम्म असुल्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फारम भरेकाहरूलाई शर्त बमोजिम काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केही समयमै जागिर छाड्न बाध्य बनाउने गरेका थिए।

कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकामध्ये हाल भक्तपुरको लोकन्थली बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-६ ठुलापोखरीका वर्ष २६ को अमर पाण्डे र हाल काठमाडौं पेप्सिकोला बस्ने सोही ठाउँका ३२ वर्षका तिलकराम पाण्डे, हाल काठमाडौं तारकेश्वर नगरपालिकाको जरखुं बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-२ का वर्ष २२ का आनन्द मरहठ्ठा छन्।

अमर नयाँ बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासिलिटीज म्यानेजमेन्ट सर्भिसेज प्रालिका सञ्चालक हुन् भने आनन्द बालाजुस्थित दुधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक हुन्।

यसैगरि हाल ललितपुरको सानोगाँउ बस्ने सिराहाको सिराहा नगरपालिका-१९ का वर्ष २३ का विवेक यादव र हाल काठमाडौंको कपन बस्ने ओखलढुङ्गा सिद्दिचरण नगरपालिका-३ अधेँरीका वर्ष २८ का अश्विन राई पनि ठगीमा पक्राउ परेका छन्।

विवेक कोटेश्वरस्थित एनएन मल्टिपर्पस प्रालिका सञ्चालक हुन्। अश्विन कपनको आकाशेपुलस्थित एबिएस जब एन्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक हुन्।

हाल काठमाडौंको जडिबुटी बस्ने सिन्धुली फिक्कल गाउँपालिका-२ का वर्ष २२ का घनश्याम पहाडी, हाल काठमाडौंको जडिबुटी बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ की वर्ष २५ की सृजना लामिछाने, हाल काठमाडौंको कोटेश्वर बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–४ की वर्ष ४० की ज्ञानु न्यौपाने र हाल काठमाडौंको कोटेश्वर बस्ने रौतहट मौलापुर गाँउपालिका-५ का वर्ष २२ का रामवचन कुमार यादवलाई पनि प्रहरीले ठगीमा पक्राउ गरेको हो।

घनश्याम कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक हुन् भने सृजना चाबहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिपर्पस प्रालिकी सञ्चालिका हुन्। ज्ञानु कोटेश्वरस्थित क्विकमान्डु एमपी प्रालिकी सञ्चालिका हुन् भने रामवचन कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक हुन्।

प्रहरीले विज्ञप्ति नै जारी गरेर जागिर लगाइदिने प्रलोभनमा पारेर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ठगी भइरहेको पाइएकाले त्यस्ता रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न र सावधान रहनसमेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.