|

विजेतालाई २१ लाख पुरस्कार राशि रहेको मोफसलको प्रतिष्ठित खप्तड गोल्डकपमा मच्छिन्द्र क्लब स्तब्ध बनेको छ। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र बाग्मती युथ क्लबसँग आफ्नो पहिलो खेलमा नै पराजित हुन पुग्यो।

धनगढीमा जारी पाँचौँ सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत सेमिफाइनलका लागि महत्त्वपूर्ण खेलमा मच्छिन्द्र पेनाल्टी सुटआउटमा स्तब्ध बनेको हो। मंगलबार भएको खेलमा निर्धारित समय दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ बाग्मतीले ४-२ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनल प्रवेशका लागि फ्रेन्ड्ससँगको भेट पक्का गर्‍यो।

पेनाल्टीमा बागमतीका अमन श्रेष्ठ,  इमान घलान, ड्याडी वाम्बा जुनियर र अनिल रानाले गोल गरे। दिवस लिम्बूको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए। मछिन्द्रका रञ्जित धिमाल र विमल घर्ती मगरले गोल गर्दा विशाल राई र नुरेन करिमको प्रहार बाहिरिन पुग्यो।

सुदूरपश्चिम-११ स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.