|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा बुधबार पाँचौँ संस्करणको मेयर कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा शुरु प्रतियोगिता चैत २ गतेसम्म हुनेछ।

उद्घाटन खेलमा दशरथचन्द नगरपालिका-४ खलंगा विजयी भएको छ। खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो। निंग्लाशैनी खेलमैदान देहीमाडौंमा खलंगाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको ग्वाल्लेक १९ दशमलव ५ ओभरमा १ सय ५१ रनमा समेटियो। उसका लागि नरेश जोशीले ३५ र निरज चन्दले ३० रनको योगदान गरे।  खलंगाका गोविन्द नाथ  र विरेन्द्र चन्दले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको खलंगाले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ७२ रन जोडेको थियो। उसका लागि प्रदीप चन्दले अर्धशतकीय पारी खेल्दै ६३ रनको योगदान गरे। राजु भाटले ३५ रन बनाए। ग्वाल्लेकका लागि दीपक जोशी र पिताम्बर जोशीले ३/३  विकेट झारे। खेलका म्यान अफ द म्याच प्रदीप चन्द भएको स्कोरर द्रोपती कुँवर (बोहरा) ले जानकारी दिइन्।

प्रतियोगितामा सहभागी  ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ। यसअघि गत वर्षको चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले हराउँदै वडा नं ४ खलंगाले हात पारेको थियो। 

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। नगरपालिकाको हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ।

प्रतियोगिताको उद्घाटन देहीमाडौंमा गरिएको थियो। उद्घाटनमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीलगायत उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.