|

काठमाडौं : भारतका पाँच राज्यमा भएको आम निर्वाचनमा चार राज्यमा भाजपा विजयी भएको छ।

भारतका उत्तर प्रदेश, उत्तराखण्ड‚ मणिपुर, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचनमा भाजपा विजयी भएको छ भने पञ्जाबमा भने आम आदमीले बहुमत हासिल गरेको छ।

यो चुनावले भाजपा शक्तिशाली पार्टीका रूपमा देखा परेको छ। यसैगरी आप उदीयमान पार्टीको रूपमा देखा परेको छ। कांग्रेस आईको विकल्पका रूपमा आप उदाउने संकेत मिलेको छ। कुनै वेला भारतभर एकछत्र शासन गरेको कांग्रेस आई निकै निरीह अवस्थामा पुगेको छ। 

निर्वाचन परिणामसँगै भारतमा जातीय राजनीति गर्ने दल कमजोर देखिएका छन्। दलितको नाममा राजनीति गर्दै आएकी मायावती र उनको दल बहुजन समाजवादी पार्टी नराम्ररी पराजित भएको छ।​

उत्तर प्रदेश (४०३ सिट)

भारतकै सर्वाधिक प्रभावशाली राज्य उत्तर प्रदेशमा भाजपा ४०३ मध्ये २५५ सिटमा विजयी भएको छ। समाजवादी पार्टी (सपा) ले १११ सिट जितेको छ। त्यसैगरी अपना दल (सोनेलाल) ले १२ सिट र राष्ट्रिय लोकदलले ८ सिट जितेका छन्। निषाद पार्टी र सुहेलदेव भारतीय समाज पार्टीले ६/६ सिट जिते भने कांग्रेस आई २ सिटमा खुम्चिएको छ। बसपा १ सिट र अन्यले २ सिट जिते।

अपना दल र निषाद पार्टी पनि भाजपा गठबन्धनकै दल हुन्। भाजपा नेतृत्वको गठबन्धनले कुल २७३ सिट हासिल गरेको छ।

सपा नेतृत्वको गठबन्धनले कुल १२५ सिट पाएको छ।

यहाँ मुख्यमन्त्री आदित्यनाथ योगीको नेतृत्वमा भाजपा चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो। उत्तर प्रदेश विधानसभा चुनावमा योगी १ लाखभन्दा बढी मतान्तरले विजयी भएका छन्। उनले १ लाख ६५ हजार ४९९ मत पाए भने उनकी प्रतिस्पर्धी सुभावती शुक्लाले ६२ हजार १०९ मत पाइन्।

योगीलाई हराउन आह्वान गर्दै  गोरखपुरमा उम्मेदवारी दिएका आजाद समाज पार्टीका प्रमुख चन्द्रशेखर आजादको भने जमानत जफत भएको छ। 

उत्तराखण्ड (७० सिट)

उत्तराखण्डमा भाजपाले ४७ सिट जितेको छ। यहाँ कांग्रेस आईले १९ र अन्यले ४ सिट जितेका छन्। भाजपाकै तर्फबाट मुख्यमन्त्री बनेका पुष्करसिंह धामी निर्वाचनमा पराजित भएका छन्। कांग्रेसका भुवन कापडीले धामीलाई ६ हजार ५७९ मतले हराएका थिए। कांग्रेस आईका तर्फबाट निर्वाचनको नेतृत्व सम्हालेका पूर्वमुख्यमन्त्री हरीश रावत पनि पराजित भएका छन्।​

पञ्जाब (११७ सिट)

पञ्जाब राज्यमा आम आदमी पार्टीले ९२ सिट जितेको छ। दिल्ली बाहिर पहिलोपटक पञ्जाबमा आम आदमीले सरकार बनाउने अवसर पाएको हो।  यहाँ कांग्रेस आईले १८‚  शिरोमणि अकाली दलले ३‚  भाजपाले २ र अन्यले २ सिट जितेका छन्।


मणिपुर (६० सिट)

पूर्वोत्तर राज्य मणिपुरमा भाजपाले ३२ सिट जितेको छ।  नेशनल पीपल्स पार्टीले ७‚  नागा पीपल्स फन्टले ५‚  कांग्रेस आईले ५ र  अन्यले ११ सिटमा जित हासिल गरेका छन्। 

गोवा (४० सिट)

गोवामा भाजपाले २० सिट ल्याएको छ। कांग्रेस आई ११‚  आप २‚ महाराष्ट्रवादी गोमन्तक पार्टी २‚  गोवा फरवार्ड पार्टी १ र  अन्य ४ सिटमा विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.