|

इलाम : झापा गोल्डकपको पाँचौ संस्करणको फाइनल प्रवेशका लागि घरेलु टोली झापा-११ फुटबल क्लब र काठमाडौं संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेल शनिवार दिउँसो ३ बजे सुरु हुनेछ।

पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किममाथि ५–१ गोल अन्तरको फराकिलो जितका साथ झापा सेमिफाइनल पुगको हो। अर्कोतर्फ नेपाल पुलिस क्लब र थ्री स्टारजस्ता बलिया टिममाथि हावी भएको संकटा समेत बलियो सेटका साथ मैदानमा रहनेछ। 

घरेलु समर्थकको साथ पाएको झापा-११ र संकटाबीचको खेल रोमाञ्चक हुने आयोजकले अपेक्षा लिएको छ। झापाका लागि संकटाविरुद्धको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। घरेलु मैदानमा यसअघिका चार वटै संस्करणको फाइनल पुगेको झापालाई संकटाको खड्गो काट्न सहज भने छैन।

इतिहास समेत संकटाको पक्षमा बलियो देखिन्छ। २०७३ सालमा चितवनमा भएको विकास मेमोरियल रनिङ शिल्डमा झापालाई हराउँदै संकटाले सेमिफाइनलमा स्थान बनाएको थियो। २०७४ मा उदयपुरमा सम्पन्न चौथो कटारी मेयर गोल्डकपमा भने झापाले बाजी मार्दै उपाधि जितेको थियो। पछिल्लो पटक दुई टोलीबीच भरतपुर गोल्डकपमा भेट भएको थियो। जहाँ संकटा ३–० ले विजयी भएको थियो।

झापा टिममा विमल घर्तीमगर, विशाल राई, देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विशाल बस्नेत, आन्द्रेस मिया, दीप कार्कीजस्ता भरपर्दा र राष्ट्रिय टोलीका सदस्य समावेश छन्। संकटमा रोहित कार्की, रोमन लिम्बु, अमित तामाङ, सुभाष गुरुङ, लक्ष्मण रुचाल, फोडे फोफोना, उत्तम राई, यान्निकलगायतका खेलाडीहरू हुनेछन्। तीन संस्करणको उपाधि चुमिसकेको त्रिभुवन आर्मी एफसी सातदोबाटोलाई पराजित गर्दै चौथोपटक फाइनलमा प्रवेश गरिसकेको छ। झापा फाइनल प्रवेश गर्दै उपाधि रक्षा गर्ने दाउमा छ भने संकटा पहिलोपटक फाइनल यात्रामा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.