|

जनकपुरधाम : मधेश प्रदेशका जिल्लामा बालविवाहको उच्च दरमा कमी ल्याउन प्रदेश सरकारले वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवसको रूपमा यो वर्ष पनि सोमबार मनाएको छ।

बालविवाहविरुद्धको दिवस २०८१ ‘छोराछोरी बराबरी, बीस पारी बिहेबारी’ मधेश किशोर-किशोरी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार जनकपुरधाममा मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहले मधेश प्रदेश सरकारले १० वर्षे रणनीतिक योजना बनाएर बालविवाह रोक्न विभिन्न प्रवर्धनात्मक तथा प्रचारात्मक कार्यक्रम गर्दै आएको बताए।

मन्त्री साहले भनिन्‚ ‘बालविवाह रोक्न बेटी पढाऊँ बेटी बचाऊँ जस्ता कार्यक्रम गर्दै आएका छौँ।’

मधेश प्रदेशमा १५ वर्षअगाडि बालविवाह गर्नेको सङ्ख्या ८.९ प्रतिशत रहेको छ। त्यसमा पनि बालिकाको विवाह गर्ने प्रतिशत १४.२ तथा बालकको विवाह २.१ प्रतिशतले हुने गरेको छ। जब कि राष्ट्रियस्तरमा १५ वर्षअगाडि नै बालविवाह गर्नेको ५.२ प्रतिशत मात्र रहेको तथ्यांकमा उल्लेख छ।

त्यस्तै १८ वर्ष अगाडि बालविवाह हुनेमा बालिकाको ४६.० प्रतिशत, बालकको विवाह हुने प्रतिशत ७.८ प्रतिशत रहेको छ। समग्रमा मधेश प्रदेशमा १८ वर्षअगाडि विवाह गर्नेको प्रतिशत २९.३ प्रतिशत रहेको छ जब कि राष्ट्रिय रूपमा २२.७ प्रतिशतले मात्र बालविवाह हुने गरेको छ। १५ देखि १९ वर्ष समूहमा मधेशमा बालिका विवाह हुनेको दर २४.९ प्रतिशत र बालक विवाह हुने ४.४ प्रतिशत रहेको छ।

मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीका अनुसार समग्रमा सो उमेर समूहमा विवाह हुनेको दर २४.९ प्रतिशत रहेको छ जब कि राष्ट्रियस्तरमा यो उमेर समूहमा बालविवाहको विवाह हुने दर १२.८ प्रतिशत रहेको बताए।

मधेश प्रदेशमा समग्र रूपमा बालविवाह ४२ प्रतिशतले हुने गरेको बताए।

राष्ट्रियस्तरमा हुने बालविवाहभन्दा मधेश प्रदेशमा हुने गरेको बालविवाहको दर उच्च रहेकाले यसको नियन्त्रणका लागि सबैको सामूहिक प्रयास गर्न आवश्यक भएको नीति आयोग सदस्य डा. शीला मिश्रले बताइन्।

किशोरकिशोरी सञ्जालकी अध्यक्ष शहिदा खातुनको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला, बालबालिका तथा न्यायिक समितिका सभापति रूपा यादव, सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँल, प्रदेश नीति तथा योजना आयोगका सदस्य शीला मिश्र सहितका वक्ताले बोलेका थिए। कार्यक्रममा बालविवाहविरुद्धको नाटक मञ्चन समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.