|

काठमाडौं : उदयपुर सिमेन्ट उद्योगको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकी उदयपुरलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरण गरिएको छ। त्यस्तै उक्त स्वास्थ्यचौकीमा बाणिज्य बैंक काउण्टरको पनि स्थापना गरिएको छ। 

शनिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। उद्योगमा एउटा मात्र एम्बुलेन्स भएको र त्यो पनि जीर्ण अवस्थामा रहेकोले एउटा नयाँ महेन्द्राको बलेरो एम्बुलेन्स पनि शनिबारदेखि सञ्चालन हुनेगरी नगरका मेयरमार्फत देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो। 

आगामी दिनमा एउटा एक्सरे मेसिनसमेत राख्न सक्नेगरी भौतिक निर्माण गरिएको छ, करिब २५ लाख पर्ने एक्सरे मेसिनसमेत जडान गर्न सके त्रियुगा नगरपालिकाको निर्णयानुसार १५ शय्याको अस्पताल स्थापना गर्न सकिने भएकोले आगामी दिनमा यतातर्फ पनि हामी सबै मिलेर सहयोग जुटाउन सके यो एक नमुना अस्पताल बन्न सक्ने बताइएको छ । 

एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापन देउरी स्वास्थ्य चौकी आफैँले गर्ने गरी आब २०७८–७९ को स्वीकृत बजेटबाट उदयपुर सिमेन्ट उद्योग प्रालिको तर्फबाट ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ।

आम नागरिकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य पूरा गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्दै जाने कुराको उद्योगले प्रतिबद्धता जाहेर गरेको छ। 

वि.स. २०४४ सालमा जापान सरकारको सहयोगबाट नेपाल सरकारको पूर्ण स्वामित्व रहनेगरी स्थापना भएको यस उद्योगले ०४९ सालदेखि व्यापारिक उत्पादन सुरु गरेको हो। 

०४५ भाद्र १ गते को तत्कालीन मन्त्रीपरिषद्को निर्णयानुसार उद्योगलाई विद्युत, सडकलगायत पूर्वाधार तथा खानी रहेको जग्गासमेत उपलब्ध गराइएको थियो ।

पछि ०४६ सालमा उद्योग स्वयंले त्रियुगा नगरपालिकाअन्तर्गत ५,६,७ र ८ नं वडामा उद्योग परिसरमा ५० बिघा १२ कठ्ठा जग्गा र वडा नं १६ मा रहेको क्वारी अफिसमा ५१३ रोपनी जग्गा खरिद गरी उद्योगको नाममा रहेको छ।

उद्योगको सम्पत्ति र दायित्वको यकिन गरी नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याडर्ड बमोजिम वित्तीय विवरण तयार गर्नुपर्ने कानुनी बाध्यता भएकोले आव ०७७–७८ को वित्तीय विवरण तयार हुँदा सञ्चित नोक्सानी हट्न गई चालू आर्थिक वर्ष २०७८–७९ देखि उद्योगलाई नाफामा लैजाने गरी बजेट तर्जुमा गरी कार्यान्वयन गरिएको उदयपुर सिमेन्ट उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जनाएका छन्।

उदयपुर सिमेन्ट उद्योग यस क्षेत्रमा रहेका कारण सुरुको अवस्थाबाट नै त्यहाँका स्थानीयले सडक र विद्युतको उपभोग गर्न पाएका छन्। उद्योगकै कारण प्रत्यक्ष–परोक्ष रुपमा ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारको वातावरण पनि सिर्जना भएको छ।

उद्योगले वार्षिक एक अर्बको हाराहारीमा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम कर, रोयल्टीलगायत कर तथा विद्युत महसुलबापत रकम सरकारलाई बुझाउँदै आएको प्रवक्ता पोख्रेलको भनाइ छ।

उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीको अध्ययनका लागि स्थापना भएको उदयसी अंग्रेजी उच्च माध्यमिक विद्यालयको व्यवस्थापन उद्योगभित्रकै उच्च तहका कर्मचारी समूहबाट हेरिँदै आएको छ। सो विद्यालयमा १६ सय विद्यार्थी सस्तो शुल्कमा अध्ययनरत छन्। 

उद्योगपरिसरमै रहेको प्रहरी कार्यालय, सुकौरामा उद्योगको अफिसपरिसरमा रहेको प्रहरी कार्यालयबाट उद्योगको मात्रै नभएर आमनागरिकलाई सुरक्षा प्रदान भएको छ। उद्योग परिसरभित्र रहेको विद्युत प्राधिकरणले उद्योगलाई मात्रै होइन, उदयपुरबासी र नजिकका पहाडी जिल्लामा समेत विद्युत प्रवाह गरिरहेको छ।

महाप्रबन्धकको रुपमा ०७७ माघ  १ गतेदेखि गोपीकृष्ण न्यौपाने प्रवेश गरेपछि उद्योग सुचारु रुपमा सञ्चालन गर्न मूलतः सुशासन, उद्योगको मर्मत सम्भार, पारदर्शिता तथा व्यवस्थापन सुधारका क्षेत्रलाई प्राथमिकता दिई कार्य सम्पादन गरेका कारणबाट यसको फाल्गुण २७ गतेसम्ममा उद्योगले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको र गत वर्षको सोही अवधिको भन्दा बढी उत्पादन तथा बिक्री गर्न सफल भएको प्रवक्ता पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.