चितवन : सिजनमा बढी उत्पादन भई खेर जाने कृषि उपजको भण्डारणका लागि चितवनमा बागमती प्रदेशकै ठूलो र अत्याधुनिक शीत भण्डार सञ्चालनमा आएको छ।
भरतपुर महानगरपालिका-१८ स्थित चनौलीमा १७ करोड रूपैयाँभन्दा बढीको लगानीमा चितवन चनौली शीत भण्डार सहकारी संस्था निर्माण गरिएको हो। २८ सय टन क्षमताको ‘कोल्ड रुम’सहित शीत भण्डार आजदेखि सञ्चालनमा आएको हो।
भण्डारमा १४ सय टन क्षमताको कक्षमा किसानले आफ्नो कृषि उत्पादन राख्न पाउँछन्। १४ सय टन बराबर क्षमताको कक्षमा व्यापारीलाई निश्चित भाडा लिएर कृषिजन्य वस्तु राख्न दिइने भण्डारका अध्यक्ष सूर्य पौडेलले जानकारी दिए। शीत भण्डारको अण्डरग्राउण्डमा दुध तथा मासुजन्य फ्रोजन उत्पादन गर्न सकिने बनाइएको छ।
सहकारी मोडलमा स्थापित पाँच तले शीत भण्डारमा सबै कक्षलाई अत्याधुनिक प्रविधि प्रयोग गरी २४ सै घण्टा वातानुकूलित बनाइएको छ। शीत भण्डारमा किसान र व्यापारीले आवश्यकताअनुसार कृषिजन्य वस्तु भण्डारण गरेर राख्न पाउने व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए। चितवनमा सिजनमा उत्पादित बन्दा, काउली गोलभेडा, काँक्रो, फर्सीलगायतका कृजिजन्य उत्पादन जोतेर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि शीत भण्डारको अवधारणा ल्याइएको उनो भनाइ छ।
‘चितवनमा बर्सेनि यी उत्पादन जोतेर, कुहाएर फाल्नु अवस्था छ‚’ पौडेलले भने, ‘यसको अन्त्यका लागि प्रदेश सरकारको सहयोगसहित शीत भण्डार सञ्चालनमा ल्याइएको हो।’
शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ।
शीत भण्डारको संरचनामा पप प्यानल र स्टिलको प्रयोग गरिएको छ। आवश्यकताअनुसार चिसोपना कायम गर्न मिल्ने पप प्यानल इन्सुलेटेडको प्रयोग गरिएकाले यो शीत भण्डार देशकै नमुना शीत भण्डार भएको अध्यक्ष पौडेलको भनाई छ।
शीत भण्डारमा अझै पूर्वाधार तयार गर्न बाँकी रहे पनि रकम अभावमा हाल गर्न सकिएको छैन। यी पूर्वाधार तयार गर्न करिब दुई करोड रूपैयाँ लाग्ने र त्यसका लागि सहकारी विभागसँग सम्झौता हुन लागेको छिट्टै पूर्णता पाउने उनले जानकारी दिए। हाल शीत भण्डारमा चितवनलगायत हेटौडा, नवलपुर लगायत अन्य जिल्लाबाट कृषि उपज आउन थालेको छ। शीत भण्डारमा कृषक तथा सहकारी संस्थाको अपनत्व होस भन्ने हेतुले उनीहरुको शेयर लगानी गरिएको छ। हाल शीत भण्डार एकलाख रुपैयाँदेखि पाँच लाख रूपैयाँसम्म कृषक, सहकारी एवं व्यापारी गरी एक हजार ३०० जनाको शेयर लगानी भएको सहकारीले जानकारी दिएको छ।
शीत भण्डार निर्माण गर्ने उद्देश्यले २१ असार २०६९ मा सहकारी स्थापना भएको हो। नौ वर्षको अवधिमा ५४ वटा सहकारी संस्थालाई एकीकृत गर्दै एक हजार तीन जना शेयर सदस्य पुर्याइएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।