|

हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारले चुनावमा कार्यकर्ता खुशी पार्न बजेट बाँडेको आरोप लगाएकी छन् । 

सोमबार बागमती प्रदेशसभा बैठकमा बोल्दै शाक्यले स्थानीय तहको चुनावलाई लक्षित गरि सरकारले कार्यकर्ता खुशी पार्न बजेट बाँडेको आरोप लगाएकी हुन् ।

‘प्रदेश सरकारले ५/५ लाखको २३ सय योजना बाँडेको छ। ५ लाखमा के बन्छ? कस्तो योजना कार्यान्वयन हुन्छ ? यो त सिधै कार्यकर्तालाई योजनाको नाममा खाउँ भनेर दिएको होइन ?’ शाक्यले प्रश्न गरिन्।

उनले नेकपा (एकीकृत समाजवादी) एमालेबाट फुटेर भर्खर बनेकाले पार्टीलाई बलियो बनाउन मुख्यमन्त्रीले कार्यकर्तालाई बजेट बाँडेको आरोप लगाइन्।

'मुख्यमन्त्रीलाई पार्टी बलियो बनाउनुपर्ने चिन्ता पनि होला । तर,पैसा बाँडेर कार्यकर्ता खुशी बनाएर पार्टी बलियो बन्दैन मुख्यमन्त्रीज्यू। चिन्ता नलिनुस्,जनताले हो पार्टी बलियो बनाउने’,उनले थपिन्। शाक्यले प्रदेश सरकार बेथिति र स्वेच्छाचारी बाटोमा हिँडेको भन्दै ५ लाखमा कुनै पनि योजना कार्यान्वयन हुन नसक्ने भएकाले त्यसलाई बन्द गर्न आग्रह गरिन्।

उनले आर्थिक वर्षको बीचमा सदनबाट पास भएको योजना काटेर नयाँ योजना ल्याउन नमिल्ने पनि बताइन्।

शाक्यले वर्तमान सरकारले आफूखुशी कर्मचारी सरुवा गरेको पनि आरोप लगाइन्। उनले सरकारले कर्मचारीहरुमा प्रतिशोध राखेर विभेदपूर्ण ढंगबाट एकै पटक ४ सय जना कर्मचारीहरुको अव्यवस्थित रुपमा सरुवा गरेको भन्दै विधि र ऐन कानुन अनुसार सरुवा गर्न आग्रह गरिन्।

सरकारले आफ्ना मान्छेहरूलाई पायक पर्ने गरी सरकारले कर्मचारी चलाएकाले प्रदेशमा थप समस्या निम्तिएको उनको भनाई छ। त्यस्तै सरकारले एकैपटक १३ जिल्लाको अस्पतालका अध्यक्षलाई राजनीतिक प्रतिशोधका कारण हटाउने काम गरेको उनले बताइन् ।

उनले सरकारको यस्तो कार्य अलोकतान्त्रिक भएको समेत आरोप लगाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.