|

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। 

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको समाचारमा जनाइएको छ।

योसँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार १ सय ६८ रहेको अधिकारीले जनाएका छन्। सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको शून्य दशमलव ८ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३ सय ७७ संक्रमणमुक्त भएका छन्। नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म संक्रमणमणमुक्त भइसकेकाको संख्या ४ करोड २४ लाख ४१ हजार ४ सय ४९ पुगेको छ। भारतमा कोरोना संक्रमणमुक्त दर ९८ दशमलव ७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

गत आइतबार एकैदिन भारतमा ५ लाख ३२ हजार २ सय ३२ को कोरोना परीक्षण गरिएको थियो। भारतमा कोरोना शुरु भएयता हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ।

भारतमा सन् २०२१ जनवरी १६ मा कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो। त्यस वेलादेखि हालसम्म कोरोनाविरुद्धको १ अर्ब ८० करोड १९ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.