|

इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम र बन्धक मुक्त गर्नेसम्बन्धी वार्तामा बाधा पुर्‍याउन  सक्ने मध्यस्थ राष्ट्र कतारले सोमबार जनाएको छ।

कतारको विदेश मन्त्रालयले ‘शिविरमा भएको हवाई आक्रमणले जारी मध्यस्थता प्रयासलाई जटिल बनाउने र तत्काल र स्थायी युद्धविरामका लागि सम्झौतामा पुग्न बाधा पुग्ने’ भन्दै चिन्ता व्यक्त गरेको छ।

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच युद्धबाट तहसनहस बनेको गाजामा युद्धविराम सम्झौता गर्ने उद्देश्यले महिनौंदेखि वार्ता गरिरहेको छ।

तर, यसै महिनाको सुरुमा इजरायलले राफाहमा स्थल सेना पठाएपछि वार्ता प्रयासमा गतिरोध पुगेको थियो।

संयुक्त राज्य अमेरिकाको सहमतिमा सन् २०१२ देखि हमासको राजनीतिक नेतृत्वलाई आश्रयस्थल दिँदै आएको कतारले इजरायली बमबारीलाई ‘अन्तर्राष्ट्रिय कानुनको खतरनाक उल्लङ्घन’ भन्दै निन्दा गरेको छ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई ‘रफाह शहरबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने आफ्नो योजना कार्यान्वयन गर्न रोक्न तत्काल कदम चाल्न आह्वान गरेको छ। गाजा लाखौँ मानिसहरूको लागि अन्तिम आश्रय स्थल बनेको छ।”

कुवेतको विदेश मन्त्रालयले पनि राफाह नजिकै विस्थापित प्यालेस्टिनीहरूको शिविरमा इजरायली आक्रमणको निन्दा गर्दै यसले इजरायलको ‘स्पष्ट युद्ध अपराध र अभूतपूर्व नरसंहारलाई सम्पूर्ण विश्वमा उजागर गरेको’ बताएको छ।

खाडी मुलुक कुबेतले ‘अन्तर्राष्ट्रिय समुदायको तत्काल र दृढ हस्तक्षेप’ को लागि आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.