'कांग्रेसमा पनि जान खोजेँ तर सम्भावना देखिनँ'

|

काठमाडौं :  वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।

विगतमा आफूले जसपा छोड्न दुईपटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए। आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको उनले स्पष्ट पारे।

उनले भने, ‘पूर्ण रुपमा यो महानगरपालिका र पूरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपर्थ्यो। जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए। त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपर्थ्यो, त्यो सकेन दुईपटक मैले राजीनामा पनि दिएँ। राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो। म रोकिए पनि। तर लगातार मसँग दुर्व्‍यवहार हुने, सामाजिक रुपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेका थिए। त्यो कारणले मैले एउटा नयाँ पार्टी रोजेँ।’

कांग्रेसमा जनप्रतिनिधि हुने सम्भावना देखिनँ

मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए।

आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाइ छ।

उनले भने, ‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा अप्सनहरु थिए, एउटा अप्सन थियो म कांग्रेसमा जाउँ। अर्को अप्सन थियो एमालेमा जाउँ। कांग्रेसमा जाने अप्सन अलिकति कमजोर किन भयो भने उहाँ पहिलादेखि यति भिड छ। यति मान्छेहरुले त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ आफ्नो जनप्रतिनिधिको अगाडि बढ्नको लागि।

त्यहाँनिर धेरै स्कोप नभएको हुनाले र म जुन पार्टीमा लागेको थिए जसपा, एक प्रकारले कम्युनिष्ट भावनाबाटै चलेको पार्टी थियो र एमालेको हाम्रा केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकास प्रति जुन एउटा चाहाना मैले देखेँ। त्यो सबैबाट प्रेरित भएर त्यसपछि म एमालेलाई रोजेँ। र आज म एमालेको पार्टी प्रवेश गरिसकेपछि अब एमालेको मेयर कहल्याउँछु। र आउने दिनहरुमा पनि एमाले मार्फत नै अब मेरो आफ्नो भविष्यको राजनीतिक यात्रालाई अगाडि बढाउँछु।’

उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको बताए। पार्टीले आफ्नो काम र प्रस्तूति हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए।

उनले भने, ‘म जुन एमाले पार्टी प्रवेश गरेको छु। पार्टी प्रवेश गर्दाखेरि कहिल्यै पनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ। म निशर्त गएको छु। अब पार्टीले मूल्यांकन गर्ने हो। मेरो काम, कारबाही कस्तो रह्यो, म कसरी आफ्नो पर्फमेन्स गरेँ। पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ।'

उनले आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिए मेयर बन्न तयार रहेको स्पष्ट पारे। मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिए पनि स्वीकार गर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.