|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा चैत ८ गतेदेखि १० गतेसम्म टुँडिखेलमा महोत्सव हुने भएको हो।

नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी गराएको हो। ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए।

‘हामीले आफ्नो कार्यकालको अन्तिम समयमा महोत्सव गर्ने अवसर पाएका छौं। यो एउटा सुनौलो अवसर हो। महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘सुदूरपश्चिममा थुप्रै पर्यटकीय स्थल भएपनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छन्।’

महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगरप्रमुख ओझाले जिकिर गरे। महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ। प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागेकाले कर्णाली पारीका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ छ।

महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, देउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिने र महोत्सवमा प्रवेश शुल्क नलाग्ने जानकारी उनले दिए। उनले महोत्सवका लागि नेपाल पर्यटन बोर्डले ५ लाख रूपैयाँ सहयोग गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.