|

विराटनगर : मोरङका व्यापारीहरूले लगानीको वातावरण गर्नुपर्ने‚ ब्याजदर घटाउनुपर्नेलगायतका माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन्। उनीहरूले मंगलवार विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

स्वदेशी उद्योग प्रवर्द्धन गर्नुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने, बैंक ब्याजदर घटाउनु पर्ने, संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्नेलगायतका माग राख्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरूले त्यसको विरोध गरेका हुन्।

सोमबार पत्रकार सम्मेलन गरी हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रिएका व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै नेपाल राष्ट्र बैंक र सरकारको ध्यानाकर्षण गराएका थिए। मंगलवार भने नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयअगाडि प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

नागरिक लगानी कोष, संचय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोषलगायतले बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग सार्दै व्यापारी व्यवसायीहरूले चरणवद्ध आन्दोलन गरेका हुन्।

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष नवीन रिजालले बजारमा भइरहेको तरलता अभाव अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर घटाइ तत्काल कर्जा प्रवाह बढाउन आग्रह गरे। उनले पुँजी अभावमा उद्योग व्यवसाय धराशायी भएको र पुँजी अभावले उद्योगहरूमा कच्चा पदार्थको मौज्दात घटेकोतर्फ सरकारले ध्यान दिनुपर्ने बताए।

सरकारी नीतिकै कारण उद्योग‚ व्यापार क्षेत्र प्रभावित बनेको, बेरोजगारीको समस्या बढेको र समग्र अर्थतन्त्र नै धरापमा पर्ने जोखिम उत्पन्न भएको भन्दै तत्कालै तरलता अभाव अन्त्य गर्न व्यवसायीहरुले जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य महेश जाजुले यो विषयलाई देशव्यापी बनाउन पहल गर्ने बताए। मोरङ व्यापार संघले संस्थागत निक्षेपको ब्याजदर घटाउनु पर्ने मुद्दालाई देशव्यापी आन्दोलनमो मुद्दा बनाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.