|

काठमाडौं : केही दिनअघि एक गिरोहले चोरी गर्ने योजना बनाए। सोही योजनाअनुसार गत फागुन २५ मा उनीहरूले काठमाडौंको चुच्चेपाटीस्थित एनसिसी र एनएमबी बैंकको पछाडि रहेको पार्किङस्थल नजिकै अमोल भोस्ले भन्ने व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिए।

उनलाई नियन्त्रण लिएर ४२ तोला सुन र नगद १२ लाख रूपैयाँ मात्र लुटपाट गरेनन्। पीडितको आँखामा खुर्सानीको धुलोसमेत छर्किए‚ कुटपिट गरे।

लुटिएलगत्तै पीडितले प्रहरीमा उजुरी दिए। उजुरीपछि महानगरीय प्रहरी बृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली तत्कालै परिचालित भयो। मेट्रो कन्ट्रोल कक्षमार्फत काठमाडौंस्थित सम्पूर्ण प्रहरी कार्यालयहरूलाई सतर्क गराइयो। लुटेराहरू काठमाडौंबाहिर जानसक्ने सम्पूर्ण नाकामा कडा चेकजाँचको व्यवस्था मिलाइयो। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीलाई समेत परिचालन गरियो।

परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अनुसन्धान क्रममा लुटेराहरूले तीन दिनदेखि घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर योजना बनाएको जानकारी भयो। उनीहरूले योजनाबद्ध तवरले आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी पीडितको सुन तथा नगदसहितको झोला डकैती गरी फरार भएको पाइएको मैनाली बताउँछन्।

लुटपाटमा संलग्न रहेको आरोपमा दाङको घोराही उपमहानगरपालिका-८ घर भई घोराही-१५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिनलाई फागुन २८ गते  दाङबाट प्रहरीले पक्राउ गर्‍यो। उनलाई काठमाडौं ल्याइएको छ। दाङको सौडीयार गाउँपालिका-६ घर भई हाल काठमाडौं-१० शान्तिनगर  बस्ने २८ वर्षीय महेश विश्‍वकर्मालाई फागुन २६ गते नियन्त्रणमा लियो।

विश्वकर्माको साथबाट घटनामा प्रयोग गरिएको बा. ७४ प ९५६० नम्बरको अपाचे मोटरसाइकल र नगद ६६ हजार रूपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ। यस्तै‚ उनको साथबाट घटनामा प्रयोग भएको रा. ४ प ११२० नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल, सुनजस्तो देखिने पहेलो धातु २६१ ग्राम,  नगद १ लाख रूपैयाँ, धारिलो हतियार खुँडा, तरवार बरामद गरिएको मैनालीले जानकारी दिए।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले जानकारी दिए। घटनामा संग्लन अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.