|

काठमाडौं :  अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्‍टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ।

इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले यो पर्व मनाइन्छ। होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ।

नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रङसँग होली खेल्ने चलन छ। नेवारी संस्कृतिमा होलीका बारेमा युवा-युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन्। होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन्।

भारत  

लीहोली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ। भगवान् कृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ ।

गुजरात, उत्तरप्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटका, तेलंगाना, आन्ध्रप्रदेश, जम्मु र कश्मीर, पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ।

त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ।

धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो। किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए। प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए। त्यति बेलादेखि नै यो परम्परा कायम छ। छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ। त्यहाँको जोगिरा गायन अर्थात् ’जोगिरा सरर...’ पूरा एसियामा लोकप्रिय छ।

 पाकिस्तान

पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ। भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ। यहाँ घरआँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ। पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ। प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ।

बंगलादेश

बंगलादेशमा पनि होली पर्व मनाइन्छ। बंगलादेश बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ। बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ।

गुयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ। उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ। यहाँ पानी, रङ र गीतसंगीतका बीच होली मनाउने चलन छ। बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन्। भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ। त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ। पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ।

बेलायत

बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ-आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ। यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ। कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ।

 ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ। होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन्। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धुमधामका साथ होली मनाउने चलन छ।

मरिसस

अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन्। यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ। यहाँ पनि होलीका दहन गर्ने चलन छ। एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ। साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ।

फिजी

फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ। राधा र कृष्णको प्रेम भावका गीतहरू गाएर होली मनाउने चलन छ। यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ। फिजीमा होलीमा मात्र होइन, यो मौसमभरि नै होली गीतहरू गाइन्छ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भएर होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।

सुरिनाम

सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।

अमेरिका

अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलन अनुसार होली मनाउने गरेका छन्।

अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्वपूर्ण पक्ष हो।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.