‘एमालेबाट फेरि संविधानमाथि घात गर्ने कोसिस भइरहेको छ’

|

दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले तोकिएकै मिति (वैशाख ३०) मै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। 

बिहीबार प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचन नहुने कुरा कतै पनि देखिएको छैन। तोकिएकै मितिमा निर्वाचन हुन्छ। अहिलेको राष्ट्रिय राजनीतिक विषय यही हो। सबै निर्वाचनतिर केन्द्रित भइसकेका छन्।’ 

जनतासँग आ-आफ्नो एजेण्डाहरू लिएर जाने काममा पार्टीहरू लागेको पनि बताए। बाहिर निर्वाचन हुन्छ, हुँदैन भनेर चर्चा भइरहेपछि बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले यसबारेमा छलफल गरेको पनि उनले सुनाए। 

प्रचण्डले भने, ‘आज बिहान मात्र प्रधानमन्त्रीसँग म र माधवकुमार नेपालको भेट भएको थियो। उहाँसँग हामीले भन्यौँ। हामी निर्वाचनको लागि पूरै तागत लगाएर दौडिसक्यौँ। तर, बाहिर निर्वाचन हुँदैन भन्ने हल्ला छ। तर, प्रधानमन्त्रीले भन्नुभयो, यो त निर्वाचनको दिन भोट हाल्ने दिन पनि हुन्छ कि हुँदैन भन्ने हल्ला हुन्छ, भनेर भन्नुभयो।’

निर्वाचनको बारेमा शंका भए तयारीमा असर पर्ने भन्दै कुनै शंका नमानेर पूरै तागतका साथ तयारीमा लाग्नसमेत आग्रह गरे। पार्टीले सबै प्रदेशमा परीक्षण गर्दै आइरहेको र निर्वाचनको तयारीलाई नै सर्वाधिक जोड दिएर अगाडि बढेको प्रष्ट पारे। 

उनले भने, ‘निर्वाचनको तयारीको क्रममा पार्टीले मुख्य कुरा आफ्नो संगठनलाई  बलियो बनाउने र आफ्नै राजनीतिक एजेण्डाहरू लिएर आफ्नै तागतमा निर्वाचन अभियानमा जान कार्यकर्तालाई निर्देशन दिएका छौँ। गठबन्धन होला र गठबन्धनबाट जितौँला भन्नेलाई मुख्य ध्यान दिने होइन्। आफ्नै तागतमा आफ्नै एजेण्डाले जनताको मन जित्ने कुरालाई पहिलो प्राथामिकता दिने हो।’

निर्वाचनमा तालमेल गरेर राम्रो परिणाम निकाल्नको लागि पनि सहायक रूपमा ध्यान दिनुपर्ने पनि बताए। पछिल्लो समय विभिन्न पार्टीहरूले गठबन्धनको सम्बन्धमा विभिन्न टीका टिप्पणी र अभिव्यक्ति गर्दै आएको भएपनि निर्वाचनमा तालमेल गर्ने कुरामा गठबन्धनमा भएका पार्टीहरूबीच कुनै पनि विमति नदेखिएको समेत दाबी गरे। 

उनले भने, ‘कतिपय मिडिया कतिपय व्यक्तिहरूले अभिव्यक्ति दिएका छन्।  गठबन्धनमा रहेको प्रमुख नेतृत्व पंक्ति चाहिँ यो गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई निर्वाचन पछिसम्म रहन्छ भन्ने नै छ।’ 

उनले गठबन्धन बनाउँदा संविधान, लोकतान्त्रिक गणतन्त्र संघीयता, राष्ट्रियताको रक्षा गर्न र प्रतिगमनविरुद्ध बनाएको भएकाले त्यसको उद्देश्य पूरा गर्न अझै बाँकी रहेको भनाइ राखे। 

अमेरिकी सहयोग परियोजना एमसिसीका कारण यो गठबन्धन टुटेर फेरि नयाँ समीकरण बन्ने देखिए पनि व्याख्यात्मक घोषणाबाट अनुमोदन भएपछि ठूलो दुर्घटनामा जोगिएको बताए। 

अहिले पनि एमसिसीको विषयमा बहस चलिरहेको भन्दै उनले त्यो बहसलाई नेपालको राष्ट्रियताको स्वाधीनता आन्दोलनलाई बलियो बनाउने उद्देश्यका साथ सकारात्मक ढंगले लिनुपर्ने उल्लेख गरे।  

उनले अझै प्रतिगमनको खतरा नटरेको भन्दै यो संविधानलाई हिजोदेखि नै कुनै न कुनै रूपले खारेज गर्न उद्धत प्रवृति र तत्वहरूबाट ठूलो अराजकतर्फ लैजाने कसरत नरोकिएको दाबी गरे। 

प्रचण्डले भने, ‘हामीले प्रतिगमन विरोध आन्दोलन गयौँ। गठबन्धन गर्यौँ। सरकार बनायौँ। हामी अगाडि बढिराखेका छौँ। तर, हिजो सेटिङमा चल्ने प्रवृति अहिले पनि जमर्को गर्दैछ। फेरि पनि देशलाई प्रतिगमनतर्फ लैजाने र संविधानमाथि घात गर्ने कोसिस भइरहेको छ।’ 

उनले एमालेले बिना कारण सदन अवरोध गरेको आरोप लगाए। ‘सदन अवरोध गर्ने केही आधार छैन। तर, उहाँहरूले अवरोध गर्दै आउनु भएको छ। १४ जना संसदको मुद्दा अदालतमा छ। अदालतमा भएका मुद्दाले सदन अवरोध गर्नु हुँदैन भनेर जान्ने मान्छे पनि छन्’ उनले भने, ‘सभामुखले संविधान र कानुनको दायराभित्र गरेको निर्णयलाई चुनौती दिने काहीँ ठाउँ छैन। तर, पनि सभामुखमाथि आरोप लगाउन छोडिएको छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.