अझै ४० लाख थान नयाँ पुस्तक छाप्न बाँकी

|
फाइल तस्वीर

काठमाडौं : सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ बाट थाल्ने निर्णय गरिसकेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाखभित्र सबै परीक्षा सकेर नतिजा प्रकाशनसँगै नयाँ भर्ना लिनू भनेको छ। पहिलेदेखि नै भर्ना गरेसँगै विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक दिने गरिएको छ।

तर यसवर्ष अझै नयाँ पाठ्यपुस्तक छपाइ सकिएको छैन। वैशाख आउन एक महिना पनि बाँकी छैन। त्यति वेलासम्म बाँकी सबै पुस्तक छपाइ सक्नेमा आशंका थपिएको छ। 

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार हालसम्म १ करोड ४० लाख थान नयाँ पाठ्यपुस्तक छापिसकिएको छ। अझै ४० लाख थान छाप्न बाँकी रहेको लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए। ‘जेठबाट पठनपाठन थाल्ने भनिएको छ, त्यो समयसम्म सक्ने प्रयासमा छौँ,’ उनले भने।

उनका अनुसार कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ। कक्षा १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) रंगमा पुस्तक छापिँदै आएको उनले जानकारी दिए। 

छपाइमा ढिलाइ नगर्न विकास केन्द्रको निर्देशन 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अनाप्रसाद न्यौपानेले समयमा पाठ्यपुस्तक छपाइसक्न जनक शिक्षालाई निर्देशन दिने बताए।

पाठ्यपुस्तक सधैँ ढिलो पुग्ने समस्या

२०७६ सालबाटै कोभिड–१९ का कारण बिथोलिएको शैक्षिक सत्र अहिलेसम्म पनि लयमा फर्किन सकेको छैन। वैशाखबाट शुरु भएर चैतमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याउने त कहिले छोट्याएर १० महिनाको मात्र कायम गर्ने गरिएको छ। यस वर्षको पनि असार १ बाट शुरु भएकाले वैशाख मसान्तसम्म नै कायम भयो।

यसरी कोरोनाले पठनपाठन बिथोलिरहँदा अर्कोतर्फ जहिले पनि समयमा नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने गरेको छैन। चालू शैक्षिक सत्र शुरु भएको एक महिना बित्दा पनि समयमा हुम्ला, जुम्लालगायत विकट जिल्लामा नयाँ पाठ्यपुस्तक पुगेन। जसले गर्दा विद्यार्थी बढ्नबाट वञ्चित भए।

जुम्लाको चन्दननाथ नगरपालिकाकी उपप्रमुख अप्सरादेवी न्यौपानेका अनुसार यो समस्या अहिले मात्र नभइ पहिलेदेखि रहँदै आएको छ। जहिल्यै पनि नयाँ शैक्षिक सत्र शुरु भएको ३ महिनासम्म पनि पुस्तक पुग्दैन। 

नेपाल अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी सरकारकै लापरबाही कारण समयमा सम्बन्धित ठाउँमा नयाँ पुस्तक नपुग्ने गरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘प्रत्येक वर्ष नै सरकारको हेलचेक्र्याइँले समयमा नयाँ पाठ्यपुस्तक पुग्न नसकेको हो, कहिले त पुरानै पुस्तक स्कुलले बाँडेको पाइन्छ।’

उनले विकट जिल्लामात्र नभएर काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमै पनि समयमा नयाँ पुस्तक नपुग्ने गरेको बताए। सरकारले कुनै पनि बहानाबाजी नगरी समयमा पुस्तक पुर्‍याउनुपर्ने उनकाे माग छ।

यता, जनक शिक्षा लिमिटेडका सूचना अधिकारी आचार्यले सकेसम्म समयमै पुस्तक पुर्‍याउन पहल गर्ने बताए। ‘अहिले पनि जे जति नयाँ पाठ्यपुस्तक छापिन्छ तुरुन्तै सम्बन्धित ठाउँमा पठाउने गरेका छौँ, यस वर्ष समयमै सकेसम्म पुस्तक पुर्‍याउँछाैँ,’ उनले भने। 

उनका अनुसार जनक शिक्षाको धनगढी, नेपालगञ्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालय छ। यहाँ छापिएका पुस्तक त्यहाँ पठाएपछि ती कार्यालयले सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक वितरण गर्ने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.