|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज १०६ जनालाई कारबाही गरेको छ। फागु पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका उनीहरूलाई कारबाही गरेको प्रहरीले जनाएको छ। 

बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १०६ जनालाई कारबाही गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

यसैगरी बिनाहेल्मेट, तीनजना चढ्ने र लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ जना सवारीचालकलाई कारबाही गरिएको छ। 

एसएसपी जोशीले रङको पर्वमा होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मद्देनजर गरेर बिहानैदेखि विभिन्न ठाउँमा चेकिङ कडा पारिएको बताए। उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए।

उच्छृ‌ंखल तरिकाले सवारीसाधन प्रयोग गर्ने, तीव्र गति र जिगज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलालाई लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, चालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी बढाई कडाइका साथ कारबाही गरिएको पनि महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाई चेकजाँच गरेको थियो।

महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई विचार गरी उपत्यकाका विभिन्न ६८ ठाउँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.