सडकदेखि कार्यालयसम्मै व्यवहार सुधार हुने अपेक्षा

|

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ शुरु गरेको छ।

कार्यक्रमको महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरियो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त अनुशिक्षण तालिमको उद्‍घाटन गरे।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकहरूसँग गर्ने व्यवहारमा थप सुधार हुने उल्लेख गरे। आगामी दिनमा ट्राफिक प्रहरीबाट सडक र कार्यालयमा आउने सेवाग्राहीसँग गरिने आचरण, व्यवहारलाई थप शिष्ट, सभ्य र मर्यादित बनाई सेवा प्रवाहलाई पारदर्शी, सरल, सहज एवं प्रभावकारी हुने कुरासमेत बताए।

उनले ट्राफिक प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी सङ्गठनकै छवि उच्च हुने भएकाले आम नागरिकलाई गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिए। जनताले रुचाएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी ट्राफिक प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए।

५ दिन चल्ने  उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २८ जना गरी कुल ३५ (८ महिला सहित) जना प्रशिक्षार्थीको सहभागिता रहनेछ। उक्त तालिममा नागरिकमैत्री व्यवहार, सामाजिक समावेशीकरण, लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृति, परम्परा, भाषा तथा प्रचलनको सम्मानसहित प्रहरीको भूमिकाबारे पुन: स्मरण गराइनेछ। 

विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने जनाइएको छ। हाल देशभरि कुल ट्राफिकको संख्या ३ हजार ९ सय ६८ रहेको भने काठमाडौं उपत्यकामा मात्र करिब १ हजार ४ सय ट्राफिक कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.