|
फाइल तस्वीर

खोटाङ : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार खोटाङ आउँदै छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउन लागेका हुन्। प्रधानमन्त्री देउवाले भोलि दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने छन्।

मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रूपैयाँमा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो। संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ करोड रूपैयाँ बजेटमा निर्माण भएको ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रालिले निर्माण गरेको हो।

निर्माण कम्पनीसँग वि.सं. २०७८ जेठ १७ गते निर्माण सक्ने गरी २०७६ जेठ १७ गते सम्झौता भएको थियो। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा निर्माण गरिएको पक्की पुल यसअघि नै सञ्चालनमा आइसकेको छ। पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.