|

युवराज विष्ट

भोजपुर :  काठको ठेकी बनाउने परम्परागत पेशा संकटमा पर्न थालेको छ। भोजपुरमा विगतमा धेरैले यो पेशा गर्दै आए संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा परेको यसमा आवद्धहरू बताउँछन्।

धेरै मेहनतका साथ खोला तथा खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि पेशाबाट पलायन हुँदै गएको ५० वर्षभन्दा बढी ठेकी बनाउँदै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए।

‘यो हाम्रो पुर्ख्यौली पेशा संकटमा पर्न थालेको छ। मेहनत धेरै गर्नुपर्छ। मेहनतअनुसार आम्दानी हुँदैन‚’ उनले भने, ‘धेरै दुःख गर्नु पर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन्। खोला खोल्सीमा चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम हुन्छ। यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो।’

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोडसल्ला, मौवा, कटहरलगाएत रुखको काठ उपयोगी हुने विश्वकर्मा बताउँछन्। तर‚ पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उनको भनाइ छ।

‘काममा त दुःख छँदैछ। अझ काठको पनि अभाव छ। गाउँले आफैंले काठ खोजेर ल्याए भने हामी बनाइ दिन्छौँ। हामीले ज्याला लिने हो‚’ विश्वकर्माले भने, ‘हामीले एक पाथी जाने ठेकी बनाएको २५० देखि ३०० रूपैयाँसम्म ज्याला लिने गरेका छौँ। दुई जनाले दिनभर काम गरेको एक हजार ५०० रूपैयाँसम्म हुन्छ।’

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ। मेहनतको आधारमा प्रतिफल नहुने भएकाले नयाँ पुस्ताले चासो नदिँदा पेशा लोप हुने अवस्थामा पुगेको उनको बुझाइ छ।

‘यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन। हिउँदको समयमा खोलामा पानी कम हुने भएकाले काम निरन्तरण काम हुँदैन। वर्षातको समयमा मात्र सञ्चालन हुन्छ‚’ उनले भने‚ ‘काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेशा नै गर्न छाडे। हामी दुई जना मिलेर काम गरिरहेका छौँ। धेरैतिर बोलाएका हुन्छन्। समय दिन नै गाह्रो हुन्छ।’

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पंखामा खसाई काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक)को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ। कलात्मक रुपमा काठबाट ठेकी, हर्पे, तोङ्बा, गम्बु लगाएत विभिन्न सामग्री बनाउँदै आएका छन्। 

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने स्थानीय जंगबहादुर विकले बताए। ‘हामीले बलको भरमा परम्पगत रुपमा काम गरिरहेका छौँ। बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ‚’ उनले भने‚ ‘आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग गरे हुने। यो पेशा संरक्षणमा खास कसैको सहयोग छैन।’

पेशालाई जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने जंगबहादुरको भनाइ छ। तालिमको व्यवस्था गरेर सिपलाई सबैमा विस्तार गर्नुपर्ने उनले बताए। ‘यो सिपलाई विस्तार गर्न आवश्यक छ। विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ‚’ जंगबहादुरले भने‚ ‘राज्यको तर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेशालाई बचाइराख्न सकिन्थ्यो जस्तो लाग्छ। अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ।’

काष्ट पैदावरबाट पेशा सञ्चालन हुने भएकाले यसको संरक्षण तथा विकासमा अन्य निकायसँग सहकार्य गरेर पेशालाई जीवन्त राख्न पहल गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरे बताउँछन्।

‘मैले भोजपुरको चोलन्तीमा पुगेर काम गरिरहकै ठाउँबाट नै उनीहरूको समस्या सुनें। उपयुक्त काठको अभाव रहेको जानकारी पाएको छु‚’ प्रमुख घिमिरेले भने, ‘वन कार्यालयले त्यस्ता काठको संरक्षण तथा थप विस्तारमा सहयोग गर्ने योजना बनाएको छ। यस्ता परम्परागत पेशाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने ठानेका छु।’

टेम्केमैयुङ गाउँपालिकाले यसको संरक्षणमा ध्यान दिने बताएको छ। उनीहरूको समस्यालाई थप पहिचान गरेर नयाँ पुस्तालाई समेत समावेश गर्दै पेशालाई जीवन्तता दिने गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए।

‘यो एउटा परम्परागत पेशा हो। यसको संरक्षण गर्नु हाम्रो दायित्व हो‚’ उनले भने‚ ‘आगामी दिनमा यसलाई थप आधुनिकता दिँदै आवश्यक साथ सहयोग संरक्षण गर्ने मेरो योजना छ। मैले गरिब दुःखी जनताको पक्षमा नै काम गरिरहेका छु।’ 

यो पेशामा आवद्ध रहेकाहरुको तथ्यांक संकलन गरेर समस्याको पहिचान गरेर पेशालाई निरन्तरता दिन पहल गर्ने अध्यक्ष राईले बताए। ‘यो पुरानो शैलीमा सञ्चालन भइरहेको छ। सहज रुपमा सञ्चालन गर्न विद्युतीय उपकरणको प्रयोग गरेर पनि काम गर्न सकिन्छ‚’ अध्यक्ष राईले भने, ‘मेहनतअनुसारको ज्याला पाउने गरी यसलाई कसरी थप विस्तार गर्ने गाउँपालिकाको सोच छ। अवका दिनमा परिणाम आउने गरी नै काम हुन्छ।’

पराम्पगत रुपमा सञ्चालन हुँदै आएका यस्ता पेशाको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनु स्थानीय एकराज विष्ट बताउँछन्। राज्यको तहबाट यस्ता पेशालाई प्राथमिकता नदिने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने उनको भनाइ छ। रैथाने पराम्परात  पेशाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.