|

हेटौंडा : बागमती प्रदेश सरकारले चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालू अवस्थामा रहेको नवौँ अर्थात् हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले भने, ‘आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको छ।’

प्रमुख प्रतिक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुईपटक मात्रै बैठक बसेर सरकारले अधिवेशन नै अन्त्य गर्ने भएको छ। प्रदेश सरकारले वैशाखबाट वर्षे अर्थात् बजेट अधिवेशन सञ्चालन गर्ने तयारी समेत गरेको छ।

प्रतिपक्षी दल एमालेको अवरोधका कारण पुस ८ गतदेखि स्थगित बैठक फागुन २९ गते र चैतको ८ गते मंगलबार बसेको थियो। २९ गते बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएको जवाफ दिएका थिए। त्यसैगरी लामो समयदेखि संसद्को सम्बन्धित समितिमा अड्किएका केही विधेयकसमेत सो बैठकले पारित गरेको थियो। मंगलबार बसेको बैठकले ३ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। 

स्वास्थ्यमन्त्री लामाका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल छनौट तथा सञ्चालन कार्यविधि,२०७८ स्विकृत गरेको छ।

यसैगरी बैठकले प्रदेश विकास कार्यक्रम विशेषअन्तर्गतका आयोजना संशोधन पनि स्वीकृत गरेको छ। प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार, शिक्षा र स्वास्थ्यतर्फको आयोजना स्वीकृत, प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धमा मापदण्ड, २०७८ स्वीकृत, प्रदेश निजामती सेवा विधेयकको सैद्धान्तिक स्वीकृति दिने पनि निर्णय गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.