सेवा बन्द हुँदा दैनिक १६ हजार सेवाग्राहीलाई सास्ती

|

काठमाडौं : यातायात व्यवस्था विभागले गत फागुन ३० गते एउटा सूचना जारी गर्‍याे। सूचनामा उल्लेख थियो, ‘चैत १ गतेदेखि हालसम्म परेको अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द रहेको जानकारी गराइन्छ।’   

विभागले बुधबार (हिजो) विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बेलुका ५ बजेदेखि समस्या समाधान नभएसम्म यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जानकारी गरायो।

उक्त सूचना जारी गरेको एकै छिनमा फेरि अर्को सूचना विभागले जारी गर्‍याे। उक्त सूचनामा सर्भरहरूको विद्युत् आपूर्ति प्रणालीको आइपिएस परिवर्तन गर्न भन्दै बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विभागका सबै यातायात कार्यालयबाट प्रदान गरिने सेवा प्रदान बन्द गरिने भनियो।

विभागले यसरी अहिले मात्र नभई यसअघि पनि पटक–पटक कहिले सर्भर समस्या देखिएको त कहिले आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भन्दै सेवा अवरुद्ध गरिरहेको छ। यसको प्रत्यक्ष मारमा भने सेवाग्राही पर्ने गरेका छन्। 

विभागले यी माथिका कारणले बारम्बार सेवा बन्द गर्न बाध्य भएको बताउँदै आए पनि कतिपय सेवाग्राही बिचौलियाको सेटिङमा सेवा बन्द गरिएको बताइरहेका छन्। यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी छ नै।

कर्मचारीहरूकै सेटिङमा यातायात कार्यालयका कागजपत्र बिचौलियाले कब्जा गर्ने गरेका घटना प्रहरीले बाहिर ल्याइसकेको छ। प्रहरीले पक्राउ गर्ने गरे पनि बिचौलियाबाट हुने त्यस्ता विकृति अझै हटेका छैनन् । 

बिचौलियाले गर्दा हुँदैन अरूको काम

बिहीबार विभागमा भेटिएका इमाडोलका शिवराज गौतम भन्छन्, ‘८ महिना भइसक्यो, स्मार्ट लाइसेन्स पाइएको छैन। यहाँ बुझ्न आउँदा यातायात कार्यालय एकान्तकुनामा बुझ्नु भन्यो। त्यहाँ यति कुरा बुझ्नुलाई धेरै समस्या भोग्नुपर्छ।’

उनले ती कार्यालयमा बिचौलियालाई पैसा खुवाए दिनभरि लाग्ने काम एकै छिनमा गरिदिने तर उनीहरूलाई प्रयोग नगर्दा दिनभरि पनि आफ्नो काम नहुने बताए। ‘कहिले सर्भर चलेन भन्छ, कहिले कर्मचारी मिटिङमा छ भन्दै मान्छे कुराउँछ, अर्कातिर बिचौलिया आफ्नै धुनमा काम गर्छन्, पैसा मात्र चाहिन्छ यहाँ’, उनले भने।

अनलाइन सेवा प्रणाली बनाएपछि झनै बिचौलियाको रजाइँ बढेको उनको भनाइ छ। ‘सर्भर बिग्रियो भन्दैमा सेवाग्राहीलाई सेवा दिने कामबाट पन्छिने त गर्न भएन नि’, उनले थाहाखबरसँगको कुराकानीमा आक्रोश पोखे, ‘समस्या आएका प्रविधि फेर्नुपर्छ, सरकारले सेवा दिने प्रणाली चुस्त बनाएमात्र सेवाग्राहीलाई सहज मिल्छ।’ 

विभाग भन्छ : कहिलेकाहीँ प्रविधिमा समस्या आइहाल्छ 

विभागका प्रवक्ता डा.लोकनाथ भुसालले कहिलेकाहीँ प्रविधिमा समस्या देखिने बताए। सर्भर बिग्रनुमा उनले भने, ‘प्रविधि हो, कहिलेकाहीँ बिग्रिहाल्छ नि, मर्मत गरेर सेवा पुनःसञ्चालन गरिहाल्छौँ।’ उनले अहिले सबै सेवा सञ्चालनमै रहेको बताए।

विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेल सेवाग्राहीको चाप बढी हुँदा सर्भरमा समस्या देखिने गरेको बताउँछन्। ‘कहिलेकाहीँ सर्भरमा समस्या देखा पर्छ, मर्मत गर्नका लागि सबै सेवा त बन्द भइहाल्छ नि’, उनले भने। सेवा बन्द गरिनुमा कुनै पनि बिचाैलियाकाे संलग्नता नरहेकाे उनकाे दाबी छ। 

कति चाप सर्भरले थेग्छ भन्ने यकिन क्षमता संख्या नतोकिएको उनले बताए। उनका अनुसार नेपालकै आइटी कम्पनीबाट सर्भर चलाइएको छ। ‘तीन वर्षदेखि आइपिएस परिवर्तन गरिएको थिएन, ब्याकअप लिन त्यो फेर्नपर्ने भएकाले हिजो फेरिँदा सेवा अवरुद्ध भएको हो। अहिले देशभर नै सेवा चलिरहेको छ’, उनले दाबी गरे।

यसैगरी समस्या दाेहाेरिए विभागले यो समस्याको दीर्घकालीन समाधान पनि खोज्ने उनको भनाइ छ। उनका अनुसार दैनिक देशभर यातायात कार्यालयहरूबाट करिब १५ हजारले सेवा लिने गर्ने गर्छन्। सेवा बन्द हुँदा उनीहरूको काम प्रभावित त हुने नै उनको भनाइ छ। 

 (यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.