शाहका म्यानेजर जोशी धरौटीमा छुटे

|

काठमाडौं : नाबालिका बलात्कार आरोपमा पक्राउ परेका पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

अदालतको आदेशसँगै पल जेल चलान भएका छन् भने उनका म्यानेजर जोशी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत तनहुँका हरिश्चन्द्र गौतमले थाहाखबरलाई जानकारी दिए। पल पुर्पक्षका लागि थुनामा गए पनि कति वर्ष जेल सजाय हुने भन्ने टुंगो लाग्न अझै २ देखि ३ महिना लाग्ने उनको भनाइ छ।

जिल्ला अदालतको फैसलाबाट सन्तुष्ट नहुने पक्ष उच्च अदालतमा जान सक्ने र उच्चको पनि फैसलामा चित्त नबुझे सर्वोच्च जानसक्ने भएकाले फैसला आउन समय लाग्ने जानकारी उनले दिए। 

प्रतिवादी पल र जोशीका पक्षबाट ११ जना र पीडित नाबालिकाका पक्षबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए। पीडित नाबालिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पलविरुद्ध १४ वर्ष कैद माग गर्दै अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

पलले आफूलाई प्रेम गर्ने तथा विवाह गर्ने झूटो आश्वासन दिएर पहिले पनि पटक-पटक जबरजस्ती करणी गरेको कुरा पीडितले पेश गरेको घटना विवरण कागजबाट देखिएको अदालतको आदेशमा उल्लेख छ। आदेशमा लेखिएको छ, ‘पीडित नाबालक हुन् भन्ने कुरा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई पूर्ण जानकारी छ। उनी ३२ वर्षीय वयस्क व्यक्ति हुन्। प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा निज प्रतिवादीले परिवर्तित नाम ०७८/८९ व्यास १२ लाई करणी गरेको तथ्यलाई थप पुस्ट्याइँ हुन आएको देखिन्छ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.