|
फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी डा. आरजु राणा देउवा पनि रहने छिन् ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उक्त मन्त्रालयले व्यक्त गरेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्।

भारतीय समकक्षी मोदीले प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन्।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री देउवाले व्यापारी समुदायको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

चैत २० गते काठमाडौँ फर्कनुअघि प्रधानमन्त्रीले वाराणसीको पनि भ्रमण गर्ने तालिका छ।

गत असारमा वर्तमान सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भारत र नेपालबीच शताब्दीऔँ पुरानो विशेष मित्रता एवं सहयोगको सम्बन्ध रहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.