|

चितवन : सशस्त्र प्रहरी बल (एपिएफ) एफसी चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ। आज (बिहीबार) भएको पहिलो खेलमा वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ शीर्षमा उक्लिएको हो।

एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले ४ गोल गरिन्। अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले १/१ गोल गरे।

पहिलो हाफमा एपिएफले २ गोल गरेको थियो। खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन्। वालिङकी गोलकिपरलाई बिट गर्दै अनिताले सहज गोल गरिन्। पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो। ४० औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाईन्।

​दोस्रो हाफमा साम्बा मैदान प्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो। प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी साम्बाले ५१ औं मिनेट व्यक्तिगत गोलको खाता खोलिन्। लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाईन्।

​६६ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४-० को अग्रता लियो। ७५औं मिनेटमा  आर्मीले पाँचौँ गोल गरेको थियो। अनिता बस्नेतले डि–बक्स बाहिरबाट गोल गर्दै एपिएफलाई ५–० को अग्रता दिलाईन्। ७९औं मिनेटमा साम्बाले ह्याट्रिक गरिन्। ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले ह्याट्रिक गरेपछि एपिएफले ६–० को अग्रता लियो।

लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गर्दै एपिएफलाई ७–० को जित दिलाईन्। यो जितपछि एपिएफ ३ खेलबाट ९ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ३ खेल नै खेलेको वालिङ भने अझै अंकविहीन छ। लिगअन्तर्गत आजको दोस्रो खेलमा धनगढी र ललितपुर भिड्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.