|

विराटनगर :  दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा र साइनो स्पोर्ट्स क्लब रानी विराटनगरबीच प्रतिस्पर्धा हुने भएको छ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रबार हुने फाइनलमा साविक उपविजेता साइनो र पहिलो पटक फाइनलमा पुगेको गोलबजार उपाधि आफ्नो पक्षमा बनाउन प्रतिस्पर्धामा भिड्ने भएका हुन्।

साइनोले गाईघाट ११ उदयपुर र गोधुली क्लब धरानलाई हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको छ भने गोलबजारले एपिएफ र एन्फा एकेडमी धरानलाई हराउँदै उपाधिनजिक पुगेको हो। साविकको उपविजेता साइनो खेल जितेर उपाधि कब्जा गर्ने सोचका साथ मैदानमा उत्रिनेछ भने गोलबजार उपाधि आफ्नो हातमा पारेर रेकर्ड राख्ने योजनाको साथ मैदान उत्रिने बताएको छ।

गोलबजारका म्यानेजर संजीव लामाले पहिलो पटक प्रतियोगितामा भाग लिएकाले उपाधि आफ्नो पक्षमा पार्ने उद्देश्यले खेलाडी मैदान उत्रिने बताए। आफूसँग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने उनको भनाई छ।

साइनो स्पोर्टस क्लबका प्रशिक्षक राजु थापाले अघिल्लो मिल्स गोल्डकपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने उपाधि बाहिर जान नदिने तरिकाले आफ्नो पक्षमा जित निकाल्ने दाबी गरे। ‘हामीलाई घरेलु दर्शकको साथ सहयोग रहनेछ। खेलाडीहरू घरेलु मैदानमा खेल्दै छन्,' उनले भने, ‘विगतमा उपविजेता भएका थियौं। यो पटक उपाधि आफ्नो पक्षमा पार्ने गरि खेलाडीहरूले खेल पस्किनेछन्।’

मिल्स गोल्डकपको विजेताले नगद २ लाख १ हजार रूपैयाँका साथै ट्रफि प्राप्त गर्नेछ। उपविजेताले नगद १ लाख १ हजार रूपैयाँ पाउनेछ। यसअघि प्रथम संस्करणमा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रूपैयाँ प्राप्त गरेका थिए।

उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रूपैयाँ पुरस्कार रहेको छ। उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, उदीयमान एकजना खेलाडीलाई २० हजार नगद पुरस्कार रहेको छ। प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ताले जनही ७ हजार रूपैयाँ पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.